धर्म/संस्कृति

ताप्लेजुङमा महाशिवरात्रि पर्व : कलशयात्रा, सलामी अर्पणसहित विविध कार्यक्रम

महाशिवरात्रि पर्वको अवसरमा नागेश्वर धाम मुहान क्षेत्र संरक्षण तथा विकास समितिले आइतबार फुङलिङमा कलशयात्रासहित संगिनी नाच तथा श्लोक कविता जुहारीसहितका कार्यक्रम गरेको छ।

समितिका अध्यक्ष रामचन्द्र नेपालका अनुसार नागेश्वर धाम क्षेत्र फुङलिङ–४ बाट कलशयात्रा सुरु गरी नगर परिक्रमासहित औपचारिक कार्यक्रममा समावेश भएको हो। त्यहाँ वैदिक सनातन धर्म संस्कार र संस्कृति अनुसारका विविध कार्यक्रम सञ्चालन हुनेछन्। नेपालका अनुसार भजन तथा गायन नृत्य, संगिनी गायन नृत्य, श्लोक कविता वा जुहारी प्रस्तुती, खाँडो जगाउने विधिको प्रस्तुती, सम्मान तथा उपहार वितरण र टीकापाति वितरण गरिने छ। उक्त धाममा शनिबार साँझ दीप प्रज्वलन, आरती र शिवार्चनासहित भजनकीर्तन गरिएको थियो।

धामको विकास र समृद्धिको अभियानका एक अगुवा तथा लिटलबुद्ध बोर्डिङ स्कुलका प्रिन्सिपल युवराज गिरीका अनुसार आइतबार बिहान स्वस्वर रुद्री पाठ, शिवार्चनासहितको यज्ञ अनुष्ठान र पूजापाठ गरिएको थियो। संविधानसभा सदस्य सञ्चपाल मादेन, फुङलिङ नगरप्रमुख अमिर मादेनसहितका व्यत्तित्वको उपस्थितिमा कार्यक्रम भएको आयोजक संस्थाले जानकारी दिएको छ।

यसैबिच महाशिवरात्रि पर्वको अवसरमा यहाँस्थित नेपाली सेनाको दुर्गादल गुल्म, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका सैनिक तथा प्रहरी कर्मचारीको टोलीले ब्याण्ड बाजासहित फुङलिङ नगर परिक्रमा गर्दै फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवास्थित चण्डेश्वर महादेवथान सिद्धीडाँडा पुगेर सलामी अर्पण गरेको थियो।

उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँ, दुर्गादल गुल्मका गुल्मपति सेनानी उमेश खड्का जिल्ला प्रहरी प्रमुख (डिएसपी) बेदप्रसाद गौतम, सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति (सशस्त्र डिएसपी) प्रमोदप्रकाश पाठक, प्रमुख अनुसन्धान अधिकृत श्रीभजन रायसहितको उपस्थिति रहेको फुङलिङ नगरपालिका वडा नं ९ का वडाध्यक्ष लक्षुमन गुरुङले जानकारी दिए।

प्रकाशित: ३ फाल्गुन २०८२ १६:४६ आइतबार