ओखलढुंगा जिल्ला, चम्पादेवी गाउँपालिका-६ घोराखोरी र भदौरेको शिरभाग थामडाँडामा कालिकादेवीको मन्दिर छ। यो मन्दिर कसले स्थापना गरेको हो भन्ने कुनै प्रमाण हालसम्म फेला पार्न सकिएको छैन। जनश्रुतिअनुसार यो मन्दिर १८२५ सालपछि स्थापना भएको बुझिन्छ।
१८२५ भदौ १५ गते इन्द्रजात्राका दिन पृथ्वीनारायण शाहले काठमाडौंमाथि आक्रमण गरी विजय हासिल गरेका थिए। त्यसपश्चात् नेपालका बाइसे–चौबिसे राज्य एकीकरण गर्न अरुण नदी पूर्वीतिर पनि एकीकरण गरी विशाल नेपाल बनाउने सिलसिलामा पूर्वी नेपाल जाँदा थामडाँडा उच्च भएको र कतैतिरबाट पनि शत्रु पक्षले आक्रमण गर्न नसक्ने भएको हुँदा यस स्थानमा कोटगढी बनाउनुका साथै कालिकादेवीको मन्दिर स्थापना भएको अनुमान गर्न सकिन्छ। शक्तिस्वरूपिणी देवीको मन्दिर स्थापना गरी पृथ्वीनारायण शाहका सैनिकहरूले कालिकादेवी समक्ष लडाइँ सफलतापूर्वक जित्न सकियोस् भनेर तान्त्रिक विधिअनुसार पूजा–पाठ गर्ने गरेको हुनुपर्छ भन्ने जनविश्वास रहेको पाइन्छ।
मन्दिरमा पूजापाठ गर्ने प्रथा
कालान्तरमा यस ठाउँमा लामो समयसम्म पानी नपरेर सारा जमिन सुक्खा भई वनस्पतिसहित प्राणीजगत्मा हाहाकार भयो। तत्पश्चात् जान्ने धामीलाई देखाउँदा थामडाँडाकी देवीलाई कालो पाठी बलि दिएपछि पानी पर्छ भनी धामीले भनेको जनश्रुतिमा सुन्न पाइन्छ।
अर्को कथनअनुसार भदौरेमा एक जना कार्की थरकी स्त्रीलाई देवता चढेजस्तो हुने र बेला–बेलामा काम्ने बक्ने भइरहँदो रहेछ। यसपछि गाउँलेहरूले यस्तो किन भएको भनी सोध्दा धामीझाँक्रीले स्त्रीलाई देवता चढेको भन्नु र धामीको भनाइबमोजिम देवीको मन्दिरमा कालो पाठी बलि दिएपछि पानी परेको र ती स्त्री पुरानै अवस्थामा आएको साथै सारा जमिन हराभरा भएको भन्ने जनविश्वास अहिलेसम्म कायमै छ। त्यसबेलादेखि कालिकादेवीलाई शक्तिस्वरूपिणी देवी वा आफूले चिताएको मनोकांक्षा पुग्ने आस्थाकी देवीका रूपमा अहिलेसम्म पूजा गर्ने चलन रहिआएको छ।
अझै रोचक कुरा यस्तो छ - कालिकादेवी मन्दिर भएको थामडाँडाको दक्षिणतिरको केही तल पानीको मुहान छ। यो पानीको मुहानलाई ढाँडाको पँधेरा भनिन्छ। मुहानबाट सदासर्वदा अटुट रूपमा पानी पलाइरहन्छ। यसलाई दैवी शक्तिको रूपमा लिने गरिन्छ। त्यहाँको जललाई भक्तहरूले कलशमा भरी देवीको मन्दिरमा चढाइसकेपछि आफ्नो घरमा लगी घर वरिपरि, पशुपंक्षी तथा आफूले लगाएको अन्नबालीमा स्वस्ति गर्ने चलन छ।
मन्दिर पुगिसकेपछि एक प्रकारको स्वर्गीय आनन्द प्राप्त हुन्छ। स्वच्छ हावापानी, हरियाली वनजङ्गलबाट निस्कने विभिन्न जातका चराचुरुंगीका आवाजको गुन्जयमान आवाजले एक प्रकारको सङ्गीतमय पाठशालाको मिठास दिलाउँछ। त्यसैगरी रमणीय वातावरण भएको हुनाले यस क्षेत्रमा रंगीबिरंगी पुतलीले स्वागत गरिरहेका हुन्छन्।
विकास निर्माणमा बाधा
विगतमा यस घोराखोरी र भदौरेको शिरभाग थामडाँडा क्षेत्रलाई आन्तरिक हवाई मैदान निर्माण गर्ने भनेर सर्भे भएको थियो। हवाई मैदान निर्माणका लागि मैदान अलि अपुग भएको भनी विभिन्न अड्कलबाजी गरी यो सुविधा हुन सकेन। यसका साथै विकास निर्माणमा विभिन्न दलका स्वार्थका कारण पनि यस ऐतिहासिक तथा धार्मिक स्थानमा हवाई मैदान निर्माण नहुनुमा स्थानीय राजनीतिक व्यक्ति वा बुद्धिजीवीहरूले विशेष ध्यान नदिएको आभास हुन्छ।
देशमा अस्थिर राजनीतिक व्यवस्थामा एक दलले कुनै विकास निर्माण गर्न विशेष पहल गरी रहँदारहँदै त्यो दलको सरकार विघटन हुने र सरकारमा गएको अर्को दलले पहिला गरेका सम्पूर्ण कार्यलाई नै खारेज गर्ने परम्पार नै कायम रहेको थियो।
राजनीतिक दबाबका कारण देश निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अरुण जलविद्युत् निर्माणका लागि ठेक्का आह्वान भइसकेको आयोजनासमेत विपक्षी दलको दबाबले २०५१ कात्तिकमा यस्तो बन्द भएको थियो।
चम्पादेवी गाउँपालिका घोराखोरीको ज्ञान प्रकाश माविले २०३९ सालदेखि दश कक्षा पास गरी एसएलसी परीक्षा सहभागी गराएको थियो। परीक्षा दिएकामध्ये विद्यार्थी शम्भु थापाले १८ वर्षको उमेरमा पहिलो ब्याचमा एसएलसी परीक्षा पास गरेको इतिहास छ। त्यस समयमा माध्यमिक शिक्षासम्म अध्ययन गर्न वा एसएलसी दिन छिमेकी जिल्ला रामेछापको हिमगंगा माध्यमिक विद्यालय साँघुटारमा यो सुविधा थियो भने त्यसबाहेक ओखलढुंगा सदरमुकामका आसपास नै जानु पर्ने बाध्यता थियो।
उक्त समयमा शिक्षाको उज्यालो ज्योति प्रदान गर्ने उद्देश्यसहित घोराखोरीमा माविसम्मको पढाइ सञ्चालन हुनु गौरव नै मान्नुपर्छ। हाल यो विद्यालयमा उच्च माध्यमिक विद्यालय सञ्चालन भइरहेको छ भने सँगै ज्ञानत्योति सामुदायिक क्याम्पसमा स्नातक तहसम्म पढाइ सञ्चालन भइरहेको छ।
आजभन्दा धेरै वर्षअगाडिदेखि नै शिक्षाको ज्योति प्रदान गर्दै आएको यस कालिकादेवीको प्रचारप्रसार नहुनुले धार्मिक तथा पर्यटकीय भक्तजनहरूलाई सेवा पुर्याउन नसक्नु ठुलै कमजोरी भएको महसुस गर्न सकिन्छ।
कालिकादेवी मन्दिर समुन्द्र सतहदेखि १५५० मिटरको उचाइमा रहेको फराकिलो घाँसे मैदानमा लाम्चो र भिरालो आकारमा अवस्थित छ। मन्दिरमा ढुंगाको शिला पूजा गरिन्छ। मन्दिरको वरिपरि विभिन्न प्रजातिका रुखसहितको हरियाली जंगल छ। मन्दिरलाई वरिपरि ढुंगाको गाराले घेरिएको छ। प्रमुख शिला कटुसको जराबाट उत्पति भएको र उक्त कटुसको रुख वर्षौं अगाडिदेखि जस्ताको तस्तै रहनु पनि दैवी शक्तिको उदाहरण मान्न सकिन्छ।
यस मन्दिरलाई आधुनिक संरचना निर्माण गरेर संरक्षण तथा प्रवर्धन गर्नुपर्ने देखिन्छ। विगतमा स्थानीय तहबाट मन्दिर निर्माणका लागि छुट्याएको बजेटले निर्माण सम्पन्न हुन सकेको छैन। त्यसकारण स्थानीय वा प्रदेश सरकारसँग बजेट माग गरेर मन्दिरलाई निर्माण गर्नुपर्ने देखिन्छ।
धार्मिक आस्था तथा जनविश्वास भएका मन्दिरको संरक्षण गर्ने दायित्व स्थानीय बुद्धिजीवी तथा गाउँपालिकाको समेत भएको हुँदा स्थानीय जनप्रतिनिधि तथा बुद्धिजीवीहरूको ध्यान जानु आवश्यक छ।
प्रकाशित: १० आश्विन २०८३ १४:२५ शनिबार