प्राचीन कालदेखि नै विभिन्न स्वरूपमा हाम्रा दिवङ्गत पूर्वजहरूको स्मरण, सम्मान, श्रद्धा गर्दै आएका छौं। यो हाम्रो सांस्कृतिक जीवनको अभिन्न अंग बनिसकेको छ। हामीलाई यो संसार देखाउने अनि यस धर्तीमा टेक्न र टिक्न सिकाउने हाम्रा मातापिता, पितामह, पितामही, प्रपितामह, प्रपितामही आदिको स्मरण गर्दै तर्पण दिने पारम्परिक चलन अहिले पनि छँदै छ। हाम्रा पूर्वजहरूलाई श्रद्धा गर्ने चलनमा परिमार्जन भएको हुन सक्छ तर त्यसको अन्तर्य बदलिएको छैन। श्रद्धाभित्रको मूल मर्म जीवितै छ। त्यही पितृश्रद्धा गर्नेविशेष समय हो सोह्रश्राद्ध।
श्राद्ध गर्ने चलन र प्रकार
यो ब्रह्माण्डमा मानिसको अस्तित्व देखा परेदेखि नै मानव जाति एक पुस्ताबाट अर्को पुस्ता हुँदै विकसित भएर आएको यथार्थ छ। अतः मानिसको जीवन केवल वर्तमान पुस्तासम्म मात्र सीमित हुँदैन। हामी, हाम्रो परिवार, समाज यो अवस्थासम्म आइपुग्नुमा आफूभन्दा अगाडि रहेका पितृहरूको उल्लेखनीय योगदान रहेको हुन्छ।
हाम्रो आफ्नो अस्तित्ववंश परम्परासँग गहिरो गरी जोडिएको हुन्छ। अहिले वर्तमान पुस्ता भोलि भूतकाल बन्छ अनि अहिलेको भविष्य भोलिको वर्तमान पुस्ता। सृष्टिको यो क्रम चलिरहन्छ। पुर्खाहरूको अमूल्य योगदानको स्मरण गर्दै तर्पण, पिण्डदान तथा ब्राह्मण भोजन गराउने परम्परा बसेको छ।
भागवत् गीतामा भगवान् श्रीकृष्णले भनेका छन्:
न जायते म्रियते वा कदाचि
न्नायं भूत्वा भविता वा न भूयः।
अजो नित्यः शाश्वतोऽयं पुराणो
न हन्यते हन्यमाने शरीरे।।
(श्रीमद्भगवतगीता अध्याय २ श्लोक २०)
अर्थात् आत्माको न त कहिल्यै जन्म हुन्छ, न त मृत्यु नै। यो न त पहिले जन्मिएर पछि अस्तित्वमा आएको हो, न त भविष्यमा सकिने नै छ। आत्मा अजन्मा, नित्य, शाश्वत र पुरातन छ। शरीरको नाश भए तापनि आत्माको कहिल्यै नाश हुँदैन।
मानिसको देह मरणशील छ। यो संसारमा जन्मेका हरेक जीवले एक दिन मर्नुपर्छ। यो शाश्वत सत्य हो। तर आत्मा चेतना हो। आत्मा कहिल्यै मर्दैन, यो अजर, अमर छ। हाम्रो धार्मिक मान्यताअनुसार आत्मा अमर भएकै कारणले पितृहरूलाई सम्झेर जल तर्पण गर्नु, पिण्डदान गर्नु, सिदा दिनु भनेको दिवंगत आत्मालाई अर्पण गर्नु हो।
स्थान, देश र परम्पराअनुसार श्राद्धको स्वरूपमा केही भिन्नता छन् तर आफन्तजनको दिवंगत तिथिमा केही शुभकर्म गर्ने परम्परा सबैतिर रहेको पाइन्छ। मत्स्यपुराणअनुसार श्राद्ध तीन प्रकारको रहेको उल्लेख छ– नित्य, नैमित्तिक र काम्य। तर ऋषि विश्वामित्रले नित्य, नैमित्तिक, काम्य, वृद्धि, सपिण्डीकरण, पार्वण आदि विभिन्न बाह्र प्रकारका श्राद्धको उल्लेख गरेका छन्।
सोह्रश्राद्ध किन गरिन्छ?
हामी यो धर्तीमा जीवन पाएर आएका छौं। त्यो जीवन हाम्रा मातापिताको देन हो। यही धर्तीमा जन्मिएर यहींको अन्न र जलबाट हामीले आफ्नो जीवन चलाइरहेका छौं। त्यसैले आफूलाई जन्मदिने, संस्कार प्रदान गर्ने, ज्ञान र विवेक प्रदान गर्ने हाम्रा अविस्मरणीय पूर्वजहरूप्रति कृतज्ञ हुनु आवश्यक छ। त्यो हाम्रो परम् कर्तव्य पनि यही हो।
हाम्रो त्यही कर्तव्यको पालनलाई धार्मिक विधि अर्थात् श्राद्धबाट हामीले अभिव्यक्त गर्छौं। भनिन्छ– मानिसको जीवनमा मातृऋण, गुरुऋण र पितृऋण लागेको हुन्छ। यी तीन ऋणमध्ये पितृऋण तिर्न मातापिता बाँच्दा राम्रो सेवा गर्ने र देहान्तपश्चात् पनि तर्पण, श्राद्ध आदि गरेर पितृप्रति कृतज्ञता र दायित्वलाई अभिव्यक्त गर्ने परम्परा विकसित भएको हो।
सोह्रश्राद्धको प्रचलन सम्बन्धमा महाभारतकालीन एक किंवदन्ती प्रचलित छ। किंवदन्ती अनुसार महाभारतको युद्धमा कर्णले वीरगति प्राप्त गरेपछि उनको दानकर्मका कारण उनी स्वर्गलोक पुगे। स्वर्गमा उनलाई देवराज इन्द्रले खानका लागि सुन, चाँदी, हिरा, मोतिलगायतका वस्तु दिए। यस्तो खान नमिल्ने वस्तु खानका लागि दिएको देखेर कर्णले देवराजलाई प्रश्न गर्दै भने, ‘हे इन्द्र, मलाई यस्तो खान नमिल्ने वस्तुहरू खानका लागि किन दियौ ?’ उनको प्रश्नमा देवराज इन्द्रले भने, ‘हे कर्ण, तिमी ठुला दानवीर हौ। तिमीले हरेक चिज सबैलाई दान दिएका छौ तर तिमीले आफ्ना पूर्वजहरूलाई कहिल्यै भोजन दान दिएनौ, तर्पण गरेनौ। त्यसैले तिमीले दिएको यी सुनचाँदी, हिरामोतीबाहेक मसँग तिमीलाई खान दिन केही छैन।’
त्यसपछि कर्णलाई पिण्डदान अर्थात् पितृभोजनका लागि सोह्र दिनका लागि पृथ्वीलोकमा फिर्ता पठाइयो। पृथ्वीमा आएर पितृभोजनका लागि श्राद्धकर्म गरेर कर्ण फेरि स्वर्ग फर्केका थिए। त्यसै बेलादेखि सोह्रश्राद्धको चलन चलेको धार्मिक मान्यता छ।
श्राद्ध केवल मृतकका लागि गरिने कर्म होइन, यो जीवित सन्तानलाई आफ्नो मूल, आफ्नो वंश र आफ्ना पूर्वजसँग जोड्ने संस्कार पनि हो। श्रद्धापूर्वक पितृहरूको स्मरण गर्नु, उनीहरूको नाममा दान–पुण्य गर्नु, तर्पण गर्नु र परिवार तथा समाजप्रतिको आफ्नो कर्तव्य पूरा गर्नु नै श्राद्ध परम्पराको व्यापक भाव हो। यस अर्थमा सोह्रश्राद्ध केवल एउटा धार्मिक अनुष्ठान होइन, यो स्मृति, श्रद्धा, कृतज्ञता र पुस्तान्तरणको संस्कार पनि हो।
सोह्रश्राद्धको अर्को उल्लेख्य पक्ष यसको सामाजिकीकरण हो। सोह्रश्राद्ध लागेपछि श्राद्ध गर्ने दिनमा विवाह गरेर टाढा गएका दिदीबहिनीहरू माइती घर आउने चलन छ। अझ नेवार समुदायमा त चेली आएर श्राद्धको सामग्री तयार गर्ने, पूजा राख्ने काम गर्छन्। श्राद्धपरम्परालाई धार्मिक कर्मकाण्डको सीमित घेरामा मात्र राख्नुहुन्न। यसको सामाजिक महत्त्व उच्च छ। नेपालकै सन्दर्भमा पनि विभिन्न समुदायमा श्राद्ध गर्ने विधि र स्वरूप फरक–फरक हुन सक्छन् तर श्राद्धको सार भने एउटै हो– पितृको स्मरण।
सोह्रश्राद्ध वास्तवमा सामाजिक सद्भाव, सहभाव र समभावको प्रतीक हो। वार्षिक श्राद्धकर्म गर्दा आफ्ना रगतको नाता भएका स्वर्गीय पिता, पितामह, प्रपितामह आदिलाई सम्झेर तर्पण दिने, पिण्डदान गर्ने परम्परा छ तर सोह्रश्राद्धमा त आफ्ना पिता, पितामह, प्रपितामह आदिबाहेक आफ्नो स्मरणमा रहेका सम्पूर्ण स्वर्गीय आफन्तहरू, टोलछिमेकका स्वर्गीय आत्माहरू, गुरुहरू, स्वर्गीय श्रद्धेय व्यक्तिहरू, मन्त्रीदेखि आफ्नो देशका स्वर्गीय राजाहरूसम्म व्यापक रूपमा स्मरण गर्ने परम्परा रहेको छ।
यस सम्बन्धम संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठको कथन छ, ‘राजादेखि सामान्य मानिससम्म जोड्ने काम सोह्रश्राद्धले गर्छ। यसले कसैलाई पनि विभेद गर्दैन। यो व्यक्तिवादी छैन। सोह्रश्राद्ध त समाजवादी छ, जसले भावनात्मक रूपले सिङ्गो देशलाई जोड्छ।’
प्रकाशित: १७ आश्विन २०८३ ०८:०१ शनिबार