अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै कपिलवस्तुका ७९ स्थानमा हर्षोल्लासका साथ आइतबार छठ पर्व मनाइएको छ।
कपिलवस्तु नगरपालिका-१ चपरतल्लास्थित जमुहार नाला, बाणगंगा नदीको रामघाट लगायतमा छठी माताको पूजाआजा र सूर्यको आराधना गर्दै पर्व मनाइएको हो। छठलाई निष्ठा, पवित्रता र सद्भावको पर्वका रूपमा मानिएको छ।
यस्तै पकडी, कृष्णनगर, डंगरी, बहादुरगन्ज लगायतका स्थानमा रहेका नदी, पोखरी र नहरमा समेत भक्तजनले सूर्यको विशेष पूजापाठ गरी सामूहिक रूपमा यो पर्व मनाएका हुन्। जिल्ला प्रहरी कार्यालयका अनुसार यस वर्ष नदी, नाला, तलाउ, पोखरीमा गरी कपिलवस्तुमा ७९ स्थानमा छठ स्थान निर्माण गरिएको छ।
जमुहार नालामा ३ हजारभन्दा बढी श्रद्धालुले र ५ हजारभन्दा बढीले रामघाट नदीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजाआजा गरेका थिए। उनीहरू त्यहाँ जम्मा भएर सामूहिक रूपमा पूजापाठ समेत गरेका थिए। पूजाआजाका लागि मधेसी, पहाडी, नेवार समुदायका सहभागी थिए। विशेष पूजाको अवसरमा उनीहरूले सूर्य र छठी माताको आराधना समेत गरेका थिए।
छठमा उपवास बसी पूजाआजा गर्नाले पारिवारिक सुख, समृद्धिका साथै सन्तान प्राप्ति र रोगव्याधि समेत निको हुने श्रद्धालु भक्तजनको विश्वास छ। उनीहरूले उक्त नदीमा पूजा गरी प्रसादका रूपमा बाँसको सामग्रीमा अर्घ्य दिएर केरा, ठेकुवा र भुसुवा, मूला, केरा, उखु लगायतका परिकार चढाएका थिए।
छठ पर्वका लागि पूजा व्यवस्थापन समिति गठन गरी जमुहार नदीमा पूजाआजाका लागि विशेष व्यवस्था गरेको थियो। समितिले टेन्ट लगायतका सामग्रीको व्यवस्था गरेकोले यस वर्ष छठ पर्वमा रौनक देखिएको थियो।
चार दिनसम्म मनाइने छठ सोमबार बिहान सम्पन्न हुँदैछ। शुक्रबार चोखो भोजन ग्रहण गर्ने, शनिबार सूर्यास्तपछि एक छाक खाने, आइतबार अस्ताउँदो र सोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिने चलन छ। पूजा स्थलको सुरक्षार्थ सुरक्षाकर्मी समेत परिचालन गरिएको थियो। जमुहार र रामघाटमा शुभकामना दिन जनप्रतिनिधि समेत पुगेका थिए।
साझा पर्व बन्दै गएको छठले केही वर्षयता रौनकता थपेको कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले बताए। कपिलवस्तु नगरपालिका वडा नम्बर १ का अध्यक्ष जाहिद खाले छठ पर्व सद्भावको पर्व बन्दै गएको बताए। बुद्धभूमि नगरपालिका वडा नम्बर १० का अध्यक्ष संदीप पाण्डेयले छठ पर्वप्रति आकर्षण बढेको बताए।
प्रहरी उपरीक्षक मनोहर भट्ट जमुहार र रामघाट लगायतका छठ स्थलमा पुगेर शुभकामना साटासाट गरेका थिए। छठको मुख्य दिन व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिई सूर्यको आराधना गर्ने गर्छन्। रातभर जाग्राम बसी सोमबार बिहान सूर्यको पूजाआजा गरी छठको समापन गर्नेछन्।
प्रकाशित: २९ कार्तिक २०८३ १९:४६ आइतबार



-600x400.jpg)