धर्म/संस्कृति

पोखरामा छठको रौनक : चार स्थानमा हजारौं भक्तजन, घर फर्कनेको संख्या घट्यो

पोखरामा पनि आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पूजा मनाइएको छ। तराई र मिथिला क्षेत्रमा मनाइने छठ पर्वको तेस्रो दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइएको हो। अब छठ पर्वको मुख्य तथा अन्तिम दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ समापन गरिनेछ।

पोखरामा पछिल्ला वर्षहरूमा सामूहिक छठ पूजा गर्नेको भीड लाग्ने गरेको छ। गत वर्षहरूमा झैं यस वर्ष पनि चार फरक स्थानमा छठ पर्व मनाउन छठ व्रतालुहरूको घुइँचो लागेको थियो। पोखराका फेवाताल किनार, नारायणस्थान मन्दिर परिसर, कालीखोला किनार र भद्रकाली मन्दिर नजिकको कमलपोखरी किनारमा आयोजित सामूहिक छठ पूजामा हजारौं छठी माताका भक्तजनले अस्ताउँदो सूर्यलाई अर्घ्य दिए।

२७ वर्षदेखि नारायणस्थान मन्दिर परिसरमा छठ पूजा गरिँदै आएको छ। त्यस्तै, विगत ७/८ वर्षदेखि कालीखोला र १०/१२ वर्षदेखि कमलपोखरीमा छठ पूजा गरिँदै आएको छ। जहाँ तराई क्षेत्रकासहित पहाडी मूलका छिटपुट भक्तजनहरू पूजा गर्न जाने गरेका छन्। सर्वाधिक भक्तजनको भीड लाग्ने फेवाताल किनारमा भने भारतीय र नेपाली भक्तालुहरू सरोबर हुने गरेको नेपाल भारत (एनबी) व्यवसायी समितिका अध्यक्ष भुनेस कुमारले जानकारी दिए।

पोखराका चारै स्थानका छठ घाटलाई व्यवस्थित बनाइएको छ भने ध्वजापताका र बत्तीले सजिसजाउ गरिएको छ। पूजा गर्नका लागि व्यवस्थित ठाउँ बनाइएको छ भने आलोपालो गरेर पूजा गर्ने व्यवस्था मिलाइएको नारायणस्थानस्थित निलकण्ठ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विनोदप्रसाद गुप्ताले बताए। उनले भने, ‘यहाँ श्रद्धालु भक्तालुहरूका लागि पूजा गर्ने व्यवस्था मिलाइएको छ भने राति बस्न चाहनेका लागि पनि बसोबासको व्यवस्था गरिएको छ।’

पोखरा बजारबाट केही टाढा दुलेगौंडा, गगनगौंडा, भरतपोखरी लगायतका क्षेत्रबाट पनि व्रतालु आएर बस्ने भएकाले बस्न मिल्ने गरी पूजा स्थल बनाइएको एनबी व्यवसायी समितिका अध्यक्ष कुमारले बताए। उनले भने, ‘व्रतालुलाई सुत्ने र खानेको प्रबन्धसमेत गरिएको छ।’

पोखराका विभिन्न ठाउँमा छठ पूजा गर्न थालेपछि पछिल्लो क्रममा छठका लागि घर फर्कनेको संख्या ह्वात्तै घटेको छ। पहिलेपहिले छठका लागि अधिकांश तराईबासी तथा भारतीय घर जाने भए पनि अहिले ७० प्रतिशतले पोखरामै छठ मनाएका छन्। 

छठअन्तर्गत शुक्रबार अर्बाअर्बाइन, शनिबार व्रतालुले निराहार व्रत बसेर पूजा गरेका थिए भने आइतबार साँझ व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिए। सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ समापन गरिने गुप्ताले जानकारी दिए।

पोखरामा तराई र भारतीय मूलका बाहेक पहाडी मूलकाहरूले पनि छठ पूजा गर्ने गरेका छन्। यद्यपि यो संख्या ज्यादै न्यून रहेको उनले बताए। सूर्यको उपासना गरिने छठ पूजामा फलफूल, कन्दमूल, ठेकुवा, कसार लगायत चढाउने गरिन्छ।

प्रकाशित: २९ कार्तिक २०८३ १९:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App