धर्म/संस्कृति

एकैदिन ११ हजार बढिले गरे पाथीभरा दर्शन

कात्तिक महिनाको अन्तिम शनिबार आज ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा तीन वर्षयताकै सबैभन्दा धेरै ११ हजार २ सय ७२ जनाले दर्शन गरेका छन्।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार शनिबारको संख्याले गत कात्तिक १७ गते मङ्गलबारको अभिलेख तोडेको हो। उक्त दिन १० हजार ६ सय १६ जनाले पाथीभरा मन्दिरको दर्शन गरेका थिए।

एकैदिन यति धेरै दर्शनार्थी मन्दिर पुगेको करिब तीन वर्षयताकै सबैभन्दा ठूलो संख्या भएको हाङवाङले बताए।

‘म कार्यकारी निर्देशक भएपछि एकैदिन यति धेरै दर्शनार्थी आएको चाहिँ यो पहिलो हो,’ उनले भने। चारवर्षे कार्यकालका लागि नियुक्ति पाएका हाङवाङको यही कात्तिक २१ गतेबाट तीन वर्ष पूरा भएको छ। उनका अनुसार कात्तिक १७ गतेको संख्या पनि तीन वर्षयताकै उच्च थियो।

मन्दिर दर्शनका लागि आउने तथा जाने दर्शनार्थीको चाप बढेपछि शुक्रबार राति अबेरसम्म तीर्थालुलाई आवासको प्रबन्धका लागि विभिन्न संस्था अग्रसर भएका थिए।

पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवर्द्धन समिति, ताप्लेजुङ उद्योग वाणिज्य सङ्घ, नेपाल रेडक्रस सोसाइटी र होटल व्यवसायी महासङ्घ जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरूले आवास पाउन नसकेका तीर्थालुलाई विभिन्न सार्वजनिक स्थलमा आवासको प्रबन्ध गरेका थिए।

दर्शनार्थीको चाप बढी भएपछि आवासको प्रबन्धमा कठिनाइ व्यहोरिरहेका तीर्थालुलाई विभिन्न सार्वजनिक स्थलमा बासको प्रबन्ध गरिएको ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष विकास गौतमले जानकारी दिए।

पाथीभरा क्षेत्र विकास समितिले काफ्लेपाटी, माथिल्लो फेदी र मन्दिर क्षेत्रसहितमा दर्शनार्थीको आवास तथा व्यवस्थापन कार्यको सहजीकरण गरेको थियो।

प्रकाशित: २८ कार्तिक २०८३ १९:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App