बजार

११ लाखभन्दा बढी घरमा पुग्यो वर्ल्डलिंक

नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड ले ११ लाख एफटीटीएच (Fiber to the Home – FTTH) ग्राहकको ऐतिहासिक उपलब्धि हासिल गरेको छ। यस उपलब्धिसँगै कम्पनीले नेपालको एफटीटीएच बजारमा करिब ३५ प्रतिशत बजार हिस्सा कायम गर्दै देशको डिजिटल रूपान्तरण यात्रामा अर्को महत्वपूर्ण कोसेढुङ्गा स्थापित गरेको छ।

सन् १९९५ मा इमेल सेवाबाट आफ्नो यात्रा प्रारम्भ गरेको वर्ल्डलिंकले विगत तीन दशकभन्दा लामो अवधिमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकाससँगै निरन्तर आफूलाई परिष्कृत गर्दै आएको छ। डायल–अप इन्टरनेट, केबल इन्टरनेट र वायरलेस इन्टरनेट सेवादेखि लिएर अत्याधुनिक एफटीटीएच प्रविधिसम्मको यात्रामा कम्पनीले नेपाली उपभोक्तालाई विश्वस्तरीय र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आएको छ। सन् २०१५ मा एफटीटीएच सेवा सञ्चालनमा ल्याएपछि कम्पनीले देशभर उच्च गतिको इन्टरनेट पहुँच विस्तारलाई तीव्रता दिएको थियो।

ग्राहकलाई अझ उत्कृष्ट डिजिटल अनुभव प्रदान गर्ने उद्देश्यका साथ वर्ल्डलिंकले हालै Wi-Fi 6 प्रविधि सफलतापूर्वक सञ्चालनमा ल्याएको छ। यस प्रविधिले उच्च गतिको इन्टरनेट, फराकिलो कभरेज, न्यून विलम्बता (Low Latency) तथा एकैसाथ धेरै उपकरणहरू जडान हुँदा समेत प्रभावकारी कार्यसम्पादन सुनिश्चित गर्ने भएकाले आधुनिक डिजिटल जीवनशैलीका लागि महत्वपूर्ण मानिएको छ।

हाल वर्ल्डलिंकको सेवा नेपालका ७४ जिल्लामा विस्तार भइसकेको छ। हिमाली भेगदेखि तराईसम्म तथा दुर्गम जुम्लादेखि विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविरसम्म उच्च गतिको एफटीटीएच इन्टरनेट सेवा पुर्‍याएर कम्पनीले डिजिटल पहुँच विस्तार तथा डिजिटल समावेशीकरणमा उल्लेखनीय योगदान पुर्‍याइरहेको छ।

३१ वर्षभन्दा बढीको सेवायात्रामा वर्ल्डलिंकले गुणस्तरीय सेवा, नवीनतम प्रविधि, उत्कृष्ट ग्राहक अनुभव तथा सुदृढ नेटवर्क पूर्वाधारमार्फत लाखौं नेपालीको विश्वास जित्न सफल भएको छ। कम्पनीका लागि ११ लाख ग्राहकको यो उपलब्धि केवल एक व्यावसायिक माइलस्टोन मात्र नभई ग्राहक, कर्मचारी, साझेदार तथा सम्पूर्ण सरोकारवालाबाट प्राप्त विश्वास, साथ र सहकार्यको प्रतिफल पनि हो।

यस ऐतिहासिक उपलब्धिका अवसरमा वर्ल्डलिंकले आफ्ना सम्पूर्ण ग्राहक, कर्मचारी, व्यावसायिक साझेदार तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ। कम्पनीमाथि निरन्तर विश्वास गर्दै सेवा उपयोग गरिरहनु भएका ग्राहकवर्गप्रति कृतज्ञता व्यक्त गर्दै वर्ल्डलिंकले आगामी दिनहरूमा पनि नवीनतम प्रविधि, उत्कृष्ट सेवा गुणस्तर तथा उच्च ग्राहक सन्तुष्टिलाई केन्द्रमा राखेर नेपालको डिजिटल भविष्य निर्माणमा अग्रणी भूमिका निर्वाह गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

नेपालको डिजिटल रूपान्तरणलाई गति दिने तथा प्रत्येक नेपालीलाई विश्वस्तरीय डिजिटल सेवामा पहुँच सुनिश्चित गर्ने आफ्नो दीर्घकालीन लक्ष्यप्रति वर्ल्डलिंक निरन्तर प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: १४ श्रावण २०८३ १६:२१ बिहीबार