बजार

डाटा सेन्टरमा समस्या आएपछि आजको सेयर कारोबार स्थगित

सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)को नियमित कारोबार स्थगित भएको छ।

ब्रोकर कम्पनीहरूको सर्भर राखिएको डाटा सेन्टरमा प्राविधिक समस्या आएपछि आजको सेयर कारोबार स्थगित गरिएको हो।

असोज ४ गते बिहानदेखि ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डाटा हब प्रालिमा प्राविधिक समस्या आएको नेप्सेले जनाएको छ। समस्या समाधानका लागि पहल भइरहे पनि सोमबारसम्म समाधान हुन नसकेको नेप्सेले जनाएको छ।

यस्तो जटिल परिस्थितिमा जबरजस्ती कारोबार सञ्चालन गर्दा नेप्सेको मुख्य कारोबार प्रणालीमै गम्भीर क्षति पुग्न सक्ने जोखिम देखिएकोले स्टक ब्रोकर एसोसिएसन अफ नेपालले आजको कारोबार रोक्न नेप्सेसमक्ष निवेदन दिएको थियो।

सोहिअनुसार नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) अनुसार सोमबारको कारोबार स्थगित गरेको हो।

प्रकाशित: ५ आश्विन २०८३ ११:५१ सोमबार