बजार

नाडा अटो शोमा सिएरा ईभी सार्वजनिक: नेक्सन ईभीको नयाँ भेरियन्ट सार्वजनिक, अरू दुई मोडलमा विशेष छुट

नेपाली बजारमा टाटाको नयाँ इलेक्ट्रिक एसयूभी सिएरा ईभी सार्वजनिक भएको छ। नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आजदेखि सुरु भएको नाडा अटो शो २०२६ मा सिएरा ईभी प्रदर्शन गरेको हो। साथै, कम्पनीले सिएरा ईभीको औपचारिक रूपमा प्रि-बुकिङ खुलाएको छ। यसको डेलिभरी आगामी दसैँदेखि सुरु गरिने कम्पनीले जनाएको छ।

नेपाली बजारमा विद्युतीय सवारीमा वर्चस्व जमाइरहेको टाटाले सिएरा ईभी ल्याएसँगै आफ्नो उपस्थिति झनै बलियो बनाएको छ। सिप्रदीले हाल टाटाका टियागो ईभी, पन्च ईभी, नेक्सन ईभी र कर्भ ईभी बिक्री गर्दै आएको छ।

सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालको विद्युतीय सवारी क्षेत्रमा टाटा ईभीको यात्राले नयाँ उचाइ लिएको बताए।

‘नयाँ टियागो ईभी र नयाँ पन्च ईभीमा नेपाली ग्राहकले देखाउनुभएको अभूतपूर्व विश्वासले हामीलाई उत्साहित बनाएको छ। काठमाडौंका सडकदेखि देशका विकट भूगोलसम्म दिगो यातायात पहुँच पुर्‍याउन टाटा ईभी अग्रणी बनेको छ,’ श्रेष्ठले भने, ‘सिएरा ईभीको आगमनले प्रिमियम एसयूभी खोज्ने ग्राहकका लागि नयाँ मापदण्ड खडा गर्नेछ। यसले ग्राहकलाई आगामी दिनका लागि सबैभन्दा आधुनिक र सक्षम ईभीहरूमध्ये एकमा पहुँच सुनिश्चित गर्छ।’

आकर्षक डिजाइन, उत्कृष्ट कार्यक्षमता, फराकिलो इन्टेरियर र अत्याधुनिक प्रविधिसहित २०५ एमएम ग्राउन्ड क्लियरेन्समा आएको सिएरा ईभीले नेपालको ईभी रूपान्तरणमा अर्को ठूलो कोसेढुंगा थप्ने उनको विश्वास छ। सिएरा ईभी विशिष्ट डिजाइन, रोमाञ्चक कार्यक्षमता र दैनिक व्यावहारिक प्रयोग चाहने ग्राहकहरूका लागि तयार पारिएको हो।

टियागो ईभी, नेक्सन ईभी र पन्च ईभीमा विशेष छुट

कम्पनीले नाडामा आफ्नो लोकप्रिय एसयूभी नेक्सनको नयाँ भेरियन्ट नेक्सन ईभी रिलोड पनि सार्वजनिक गरेको छ। कम्पनीले यसको आधिकारिक मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकेको छ। नाडा अफरअन्तर्गत ग्राहकले ४२ लाख ४९ हजार रुपैयाँमै खरिद गर्न पाउने कम्पनीले जनाएको छ।

त्यस्तै, कम्पनीले हालै सार्वजनिक गरेको टियागो ईभी र पन्च ईभी फेसलिफ्ट मोडलमा पनि १–१ लाख रुपैयाँ छुट दिएको छ। नाडा अफरमा ग्राहकले पन्च ईभी ३२ लाख ९९ हजार रुपैयाँ र टियागो ईभी २७ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सक्नेछन्।

प्रकाशित: ९ भाद्र २०८३ २०:५१ मंगलबार