बजार

सुनको मूल्यमा चार दिनदेखि निरन्तर गिरावट

यो साता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ। अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो चार दिनदेखि सुनको मूल्य लगातार ओरालो देखिएको हो। 

गत आइतबार एकैदिन प्रतितोला रु ११ हजार ६०० ले घटेर रु दुई लाख ४१ हजार ९०० कायम भएको सुनको मूल्य सोमबार पुनः तोलामा रु दुई हजार घटेर रु दुई लाख ३९ हजार ९०० मा किनबेच भएको थियो।

हिजो मंगलबार प्रतितोला रु दुई हजार ९०० घटेपछि रु दुई लाख ३७ हजारमा कारोबार भएको सुन आज पुनः तोलामा रु सात सय घटेर रु दुई लाख ३६ हजार ३०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

आज चाँदीको मूल्य भने बढेको छ। मंगलबार प्रतितोला रु दुई हजार ९२० मा किनबेच भएको चाँदी आज बढेर रु दुई हजार ९६५ पुगेको हो। 

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ९६० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ। 

प्रकाशित: १२ कार्तिक २०८२ १२:०० बुधबार