बजार

काँक्रा प्रतिकिलो २२ रुपैयाँमा पनि नबिकेपछि किसान निराश

धेरै आम्दानी लिन मेहनत गरेर बारीमा उत्पादन गरेको काँक्रोले बजार मूल्य नपाउँदा दक्षिणी धादिङको टाढाको बस्तीका किसान निराश बनेका छन्।  

धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ मास्कर र चितवनको राप्ती नगरपालिका–१३ गडी आसपासका किसान आफ्नो उत्पादन गरेको काँक्रोले मूल्य नपाउँदा निराश बनेका हुन्। अघिल्ला वर्षमा काँक्रोबाट मात्रै एक याममा रु तीन लाखसम्म नगद बुझेका किसानले अहिले रु ५० हजारको पनि काँक्रो बिक्री गर्न नसकेको गडीका स्थायी रमेश श्रेष्ठले गुनासो गरे।  

गडी र मास्कर दुई गाउँ धादिङ र चितवनको सीमावर्ती गाउँ हुन्। यहाँका करिब ७० घरपरिवारले बारीमा काँक्रो लगाएका छन्। भौगोलिक हिसाबमा टाढा पर्ने गडी र मास्करमा धेरैजसो विपन्न चेपाङ समुदायको बसोबास छ। यसपालिको काँक्रोखेतीले मुनाफा नदिए पनि लगानी उठाउन कठिन भएको किसानको भनाइ छ। ‘पोहोर प्रतिकिलो रु ९० देखि रु १०० सम्म पाइन्थ्यो, यसपालि धेरैमा रु ४५ र थोरैमा रु २२ सम्म झरेको छ,’ मास्करका किसान सन्दीप चेपाङ भन्छन्, ‘भाँडा, मजदुरी र मेहनत जोड्दा हामीले घाटा मात्र बेहोरेका छौं, बीउ रोप्दाको पैसा पनि उठ्दैन जस्तो छ।’  

काँक्रोमा फल लाग्नुअघि नै रोग लागेको र पहेलो हुँदै बोटै सुक्न थालेको उनले सुनाए। ‘प्राविधिकले आफैं आएर हेरे, केही कम भएको जस्तो लाग्थ्यो,’ चेपाङ भन्छन्, ‘बल्लतल्ल बचेको बोटमा फलेको काँक्रोले पनि बजार मूल्य पाएन, अब फाइदा कमाउने आशा छैन नै लगानी उठाउन पनि नसक्ने भइयो।’  

पोहोर साल आठ प्याकेट बीउ लगाएर रु दुई लाख ४६ हजार कमाएकामा यसपालि अहिलेसम्म जम्मा रु २२ हजारको मात्रै काँक्रो बिक्री भएको किसान चन्द्र चेपाङको भनाइ छ। उनको अनुसार अघिल्ला वर्षहरूमा प्रतिकिलो रु ९० देखि रु १४० सम्ममा बेचिएको काँक्रो यस वर्ष धेरैमा रु ४५ सम्म पाइएको छ। ‘अहिले रु २२ मा पनि नबिक्ने अवस्था छ, बीउ लगाउँदाको खर्च, मजदुरी र गाडी भाडा उठाउन पनि हामीलाई धौधौ छ,’ उनले भने।  

एक हलको मेलो बारीमा आठ प्याकेट जति बीउ लगाइन्छ। एक प्याकेट बीउ किनेर लगाउन मात्रै रु तीनदेखि चार हजारसम्म लाग्छ। मास्कर र गडीका किसानहरू कसैले दशदेखि ५० प्याकेटसम्म बीउ लगाएका छन्। सानो लगानी गर्नेले पनि घाटा व्यहोर्नुपरेको छ भने ठूलो लगानी गर्ने धेरै मारमा परेका छन्। ‘पोहोर परार एक लट काँक्रो बेच्दा रु ४५ हजारसम्म आउँथ्यो, अहिले रु पाँच हजार पनि आउँदैन,’ किसान रामलाल चेपाङ भन्छन्, ‘कति मेहनत गरेर लगायौं, तर मूल्य नपाएपछि यहाँका सबै किसान घाटा व्यहोर्न बाध्य छौं।’  

गडी आसपासका किसानले काँक्रो करिब दुई घण्टाको बाटो पार गर्दै पृथ्वी राजमार्गसम्म झारेर धादिङ र चितवनका बजारमा बिक्री गर्दै आएका छन्। दक्षिणी धादिङको टाढाको क्षेत्रमा उत्पादन भएको काँक्रो जिल्लाका ठूला बजारमा भने व्यापारीले प्रतिकिलो रु ६० देखि रु ७० सम्ममा बिक्री गरिरहेका छन्।  

आपूर्ति धेरै र माग कम भएकाले मूल्य घटेको व्यापारीको भनाइ छ। कृषि ज्ञान केन्द्र र स्थानीय तहले व्यावसायिक खेतीलाई प्रवद्र्धन गर्दै आएका छन्। बजार व्यवस्थापनमा ध्यान दिन नसक्दा किसानले उत्पादनबाट घाटा व्यहोर्नुपरेको हो। रासस

प्रकाशित: २३ श्रावण २०८२ १७:१८ शुक्रबार