नेपालमा चेरी गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिले नयाँ विद्युतीय क्रसओभर एसयूभी CHERY Q सार्वजनिक गरेको छ। कम्पनीले नयाँ मोडलमार्फत नेपाली विद्युतीय सवारी बजारमा अत्याधुनिक प्रविधि, प्रिमियम आराम र उन्नत सुरक्षा सुविधालाई प्राथमिकताका साथ प्रस्तुत गरेको जनाएको छ।
चेरी क्यूको लम्बाइ ४ हजार १९५ एमएम, चौडाइ १ हजार ८११ एमएम र उचाइ १ हजार ५६८ एमएम रहेको छ। यसमा २ हजार ७०० एमएमको ह्विलबेस र १७५ एमएम ग्राउन्ड क्लियरेन्स उपलब्ध छ। त्यस्तै, यसको अप्रोच एंगल २१ डिग्री र डिपार्चर एंगल २६ डिग्री रहेको छ।
गाडीमा ७० लिटर क्षमताको विद्युतीय फ्रन्ट ट्रंक रहेको छ भने पछाडिको बुट स्पेस ३७५ लिटर छ। पछाडिका सिट फोल्ड गर्दा उक्त क्षमता बढेर १ हजार ४५० लिटरसम्म पुग्ने कम्पनीले जनाएको छ। सस्पेन्सनतर्फ अगाडि म्याकफर्सन स्ट्रट र पछाडि मल्टिलिंक सेटअप दिइएको छ।
सुरक्षाका लागि गाडीमा ६ वटा एयरब्याग, ५४० डिग्री प्यानोरामिक क्यामेरा, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र हिल असिस्टलगायतका सुविधा छन्। यसमा २१ वटा एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस) फिचर समावेश गरिएको छ। जसमा एडाप्टिभ क्रुज कन्ट्रोल, लेन डिपार्चर वार्निङ, ब्लाइन्ड स्पट डिटेक्सन र अटोमेटिक इमर्जेन्सी ब्रेकिङलगायतका प्रविधि रहेका छन्। साथै, अटो पार्किङ र वायरलेस चार्जिङ सुविधा पनि उपलब्ध छ।
४०० किलोमिटरसम्म रेन्ज
चेरी क्यूमा ४१.२ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री प्याक जडान गरिएको छ। रियर ह्विल ड्राइभ (आरडब्लूडी) प्रणालीमा आधारित यस गाडीमा पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर प्रयोग गरिएको छ। उक्त मोटरले अधिकतम ९० किलोवाट पावर र ११५ एनएम टर्क उत्पादन गर्छ।
कम्पनीका अनुसार गाडीले एनईडीसी परीक्षण चक्रअनुसार एकपटकको पूर्ण चार्जमा ४०० किलोमिटरसम्म रेन्ज दिन्छ। यसमा फास्ट चार्जिङ प्रविधि पनि उपलब्ध छ, जसले ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब १६.५ मिनेट समय लाग्ने कम्पनीको दाबी छ।
नेपालभर बिक्री तथा सेवा सञ्जाल विस्तार गर्ने योजना
पायोनियर मोटो कर्प प्रालिका प्रबन्ध निर्देशकले चेरी क्यूको सार्वजनिकरणले नेपालमा विश्वस्तरीय अटोमोबाइल प्रविधि र स्मार्ट मोबिलिटी समाधान भित्र्याउने कम्पनीको प्रतिबद्धता झल्काउने बताएका छन्।
उनका अनुसार उन्नत सुरक्षा प्रणाली, प्रिमियम आराम, स्मार्ट पार्किङ प्रविधि र दैनिक प्रयोगका लागि उपयोगी सुविधाको संयोजनले चेरी क्यू नेपाली ग्राहकको बदलिँदो अपेक्षा पूरा गर्नेछ।
उनले नयाँ सवारीसाधन सार्वजनिक गर्नुका साथै ग्राहकलाई सहज स्वामित्व अनुभव प्रदान गर्न कम्पनीले आफ्नो पूर्वाधार र सेवा सञ्जालसमेत विस्तार गरिरहेको बताए।
ग्राहकले काठमाडौंको थापाथलीस्थित चेरी शोरुमबाट CHERY Q Premium अवलोकन तथा अनुभव गर्न सक्नेछन्। यसका अतिरिक्त बुटवल, विराटनगर, दाङ, चितवन र बिर्तामोडमा रहेका कम्पनीका शोरुमबाट पनि गाडीबारे जानकारी लिन सकिनेछ।
प्रकाशित: २० कार्तिक २०८३ १८:२३ शुक्रबार