बजार

एप्पलको ‘नेमड्रप’ फिचरमाथि भारतमा १ हजार ५०० करोड भारुको मुद्दा, बिक्री रोक्न माग

के हो नेमड्रप फिचर ?

अमेरिकी प्रविधि कम्पनी एप्पलविरुद्ध भारतमा उसको लोकप्रिय ‘नेमड्रप’ फिचरलाई लिएर १ हजार ५०० करोड भारतीय रुपैयाँ (करिब १६ करोड १८ लाख अमेरिकी डलर) क्षतिपूर्तिको मागसहित मुद्दा दायर भएको छ।

अमेरिकामा आधारित प्रविधि स्टार्टअप जीजी टेक्नोलोजिजले एप्पलको नेमड्रप फिचरले आफ्नो पेटेन्ट अधिकार उल्लंघन गरेको आरोप लगाउँदै बम्बई उच्च अदालतमा मुद्दा दायर गरेको हो। कम्पनीले क्षतिपूर्तिसँगै पेटेन्ट उल्लंघन भएको दाबी गरिएका एप्पलका उपकरणको भारतमा आयात र बिक्री रोक्नसमेत अदालतसँग माग गरेको छ।

जीजी टेक्नोलोजिजले आफ्नो ७८१ पृष्ठ लामो निवेदनमा नजिकै रहेका दुईवटा उपकरणबीच सम्पर्क विवरण आदानप्रदान गर्न सकिने प्रविधिमाथि आफ्नो भारतीय पेटेन्ट रहेको दाबी गरेको छ। कम्पनीका अनुसार उक्त प्रविधि प्रयोग गर्दा दुईवटा फोनलाई पहिले नै म्यानुअल रूपमा जोड्नुपर्ने आवश्यकता पर्दैन।

कम्पनीले सन् २०२१ मा भारतमा उक्त प्रविधिका लागि पेटेन्ट आवेदन दिएको थियो। सन् २०२४ जुलाईमा पेटेन्ट प्राप्त भएको उसको दाबी छ। नेमड्रप फिचर आईफोनको आफ्नै प्रणालीमा उपलब्ध भएकाले त्यसको प्रयोग रोक्न अन्तरिम आदेशसमेत माग गरिएको छ। मुद्दाको पहिलो सुनुवाइको मिति भने तय भइसकेको छैन।

जीजी टेक्नोलोजिज सन् २०१८ मा गौरव गोयलले स्थापना गरेको स्टार्टअप हो। भारतीय प्रविधि संस्थान दिल्लीका स्नातक तथा गोल्डम्यान स्याक्सका पूर्व लगानी बैंकर गोयलले सन् २०१९ मा ‘स्टेटच’ नामक एप सार्वजनिक गरेका थिए। उक्त एपमार्फत प्रयोगकर्ताले दुईवटा फोन नजिक ल्याएर आफ्नो सम्पर्क विवरण आदानप्रदान गर्न सक्छन्। यसलाई परम्परागत भिजिटिङ कार्डको विकल्पका रूपमा प्रस्तुत गरिएको थियो।

कम्पनीले यसअघि सन् २०२६ अप्रिलमा अमेरिकामा पनि एप्पलविरुद्ध यस्तै प्रकृतिको पेटेन्ट उल्लंघनसम्बन्धी मुद्दा दायर गरेको थियो। सोही उजुरीका आधारमा अमेरिकी अन्तर्राष्ट्रिय व्यापार आयोगले पनि एप्पलमाथि अनुसन्धान अघि बढाएको जनाइएको छ।

के हो नेमड्रप फिचर ?

एप्पलले सन् २०२३ जुनमा आयोजित वर्ल्डवाइड डेभलपर्स कन्फरेन्स (डब्ल्यूडब्ल्यूडीसी) मा नेमड्रप फिचर सार्वजनिक गरेको थियो। पछि आईओएस १७ सँगै यो सुविधा प्रयोगकर्ताका लागि उपलब्ध गराइएको थियो।

यस फिचरमार्फत दुईवटा आईफोन नजिक ल्याएर नाम र सम्पर्क विवरण सहजै आदानप्रदान गर्न सकिन्छ। यसका लागि फोन अनलक गर्न वा छुट्टै सेटअप गर्नुपर्ने आवश्यकता पर्दैन। प्रयोगकर्ताले आफ्नो सम्पर्क विवरण साझा गर्ने वा प्राप्त गर्ने प्रक्रिया नियन्त्रण गर्न सक्छन्। पछि वाचओएस १०.१ मार्फत यो सुविधा उपयुक्त एप्पल वाचमा पनि विस्तार गरिएको थियो।

एप्पलले भारतलाई तीव्र रूपमा विस्तार भइरहेको प्रमुख बजारका रूपमा लिँदै आएको छ। भारतमा आईफोनको बिक्रीसँगै उत्पादन र खुद्रा व्यापार पनि विस्तार गरिरहेको कम्पनीका लागि यो मुद्दा महत्वपूर्ण बन्न सक्ने देखिएको छ।

प्रकाशित: ६ मंसिर २०८३ १९:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App