अनिश्चितकालीन आन्दोलनरत सुनचाँदी व्यवसायीले सोमबार करदाता सेवा कार्यालयमा धर्ना दिएका छन्। सरकारले लागु गर्न लागेको विलासिता कर नीतिको विरुद्धमा चरणबद्ध आन्दोलनमा उत्रिएका उदयपुरका सुनचाँदी व्यवसायीले घोषित कार्यक्रमअनुसार करदाता सेवा कार्यालय गाईघाटमा धर्ना दिएका हुन्।
उदयपुर सुनचाँदी व्यवसायी संघ उदयपुर र सगरमाथा सुनचाँदी व्यवसायी संघको संयुक्त आयोजनामा आन्दोलनरत व्यवसायीले सोमबार दिउँसो एक बजेदेखि पाँच बजेसम्म कर कार्यालयको गेटअगाडि शान्तिपूर्ण धर्ना दिए।
जिल्लाभरि कार्यरत सुनचाँदी व्यवसायीले आन्दोलनको तेस्रो चरणअन्तर्गत कर कार्यालयमा धर्ना दिएको उदयपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष काशी सोनीले बताए। उनका अनुसार यसअघि मौन जुलुस, सिठी जुलुस र पसल बन्द कार्यक्रम आयोजना गर्दै विरोध गर्ने काम भइसकेको छ। पसल बन्द भने अनिश्चितकालका लागि भइरहेको अध्यक्ष सोनीले बताए।
सदरमुकाम गाईघाटलगायत जिल्लाका सबै बजारमा व्यवसायीले अनिश्चितकालका लागि पसल बन्द गरेर आन्दोलन गरिरहेका छन्। बन्दका कारण गाईघाटसँगै बोक्से, जलजले, मोतीगडा, बगाहा, कटारी, बेल्टार, रामपुर, मुर्कुची, घुर्मीलगायत बजारका सबै सुनचाँदी कारोबार ठप्प छ।
आगामी आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रममा सुनचाँदी तथा हिराका गरगहना व्यवसायमा विलासिता कर लगाउने सरकारले निर्णय गरेको छ। सो निर्णयविरुद्ध व्यवसायी संघले देशव्यापी आन्दोलनको घोषणा गरेअनुसार मौन जुलुस, सिठी जुलुस र पसल बन्द हुँदै कर कार्यालयमा धर्नासम्म आइपुगेको व्यवसायीले बताएका छन्।
विलासिता करवापत लगाइएको सुनमा दुई प्रतिशत, बहुमूल्य हिरा पत्थरमा लगाएको १३ प्रतिशत भ्याट र भन्सार कर खारेजीको माग उनीहरूले गर्दै आएका छन्। सरकारले यसअघि लगाउँदै आएको सुनमा भन्सार कर ६ प्रतिशत नै कायम गर्नुपर्ने तथा सुनचाँदी कारोबारबारे प्रस्ट नीतिनियम निर्माण गरेर लागु गर्नुपर्ने माग उनीहरूको छ।
प्रकाशित: २४ असार २०८२ ०९:२४ मंगलबार