पोखरामा अवैध भरुवा बन्दुक राख्ने दुई जना पक्राउ परेका छन्। अवैध भरुवा बन्दुक लुकाई छिपाई राखेको आरोपमा कास्की प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका वडा नं.१४ मझेरीपाटनका ३० वर्षीय साजन बि.क र सञ्जय नेपाली रहेका छन्।
अवैध रूपमा भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने सूचना आएपछि वडा प्रहरी कार्यालय रामबजारबाट गएको प्रहरी टोलीले खानतलासी गर्दा भरुवा बन्दुक भेटिएपछि विक र नेपालीलाई पक्राउ गरिएको कास्कीका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक बिरेन्द्रकुमार पासवानले जानकारी दिए।
पक्राउ परेकाहरूको साथबाट एक थान भरुवा बन्दुक (नाल) र एक थान फलामको धारिलो हतियार बरामद गरिएको उनले बताए।
‘अवैध रूपमा भरुवा बन्दुक राखेको खबर पाएपछि बैदाम प्रहरी चौकीबाट एउटा टोली पठाएका थियाैँ,उनले भने,‘नभन्दै साजन विकको घर खानतलासी गर्दा भरुवा बन्दुक र एक थान धारिलो हतियार फेला पर्यो।’ फेला परेको हतियारबारे अनुसन्धान गर्दा सञ्जय नेपालीको राख्न दिएको भन्ने खुलेपछि दुबैलाई पक्राउ गरिएको उनले बताए।
पक्राउ परेकाहरूलाई कास्की जिल्ला अदालतबाट हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा ६ दिन म्याद थप गरी अनुसन्धान भइरहेको उनले जानकारी दिए।
प्रकाशित: ३२ असार २०८३ १८:५५ बिहीबार