अपराध

ब्राउन सुगरसहित दुई जना पक्राउ

जिल्ला प्रहरी कार्यालय उदयपुर। तस्बिरः महेश्वर

उदयपुरका दुई युवा लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन्। जिल्लाको बेलका नगरपालिका-१ आम्बासीस्थित भागलपुर प्रहरी चौकीबाट खटेको टोलीले उनीहरूलाई बुधबार राति पक्राउ गरेको हो।

पक्राउ पर्नेहरू आर्जु राई र श्यामकुमार कार्की रहेका छन्। उनीहरू सप्तरीको फत्तेपुरदेखि चौदण्डीगढी नगरपालिका-३ बसाहा पैतासिल चोकतर्फ आउँदै गर्दा पक्राउ परेका हुन्। राईले चलाएको र कार्की पछाडि सवार रहेको मोटरसाइकल रुपनगर–बसाहा खण्डमा चेकजाँच गर्दा लागूऔषध ब्राउन सुगर फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

मोटरसाइकलसहित नियन्त्रणमा लिइएका उनीहरूलाई इलाका प्रहरी कार्यालय रामपुर ठोक्शीलाको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी चिरञ्जिवी थापाले बताएका छन्। उनीहरूको साथबाट १ सय ५५ मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद भएको प्रहरी भनाइ छ।

त्यसैगरी, झापामा बदमासी गरी उदयपुर आएर लुकी बसेका एक फरार अभियुक्त पनि पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापामा बैंकिङ कसुर (चेक बाउन्स)मा अभियुक्त ठहर भए पनि फरार रहेका त्रियुगा नगरपालिका-४ का ६३ वर्षीय ढुण्डिराज घिमिरे पक्राउ परेका हुन्।

त्रिनपा-४ घर भए पनि त्रिनपा-११ गाईघाटमा लुकिछिपी बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले खोजतलासका क्रममा फेला पारि अनुसन्धानका लागि झापा प्रहरी कार्यालय पठाइदिएको डिएसपी थापाले बताए।

प्रकाशित: १० वैशाख २०८३ १३:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App