अपराध

१२ किलो गाँजासहित तीन जना पक्राउ

उदयपुरको पश्चिमी नाका कटारीबाट प्रतिबन्धित जडिबुटी झण्डै १२ किलो गाँजासहित प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय कटारीको टोलीले सोमबार साँझ गाँजा र किनबेचमा संलग्न व्यक्तिहरू पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कटारी नगरपालिका ४ का २० वर्षीय रञ्जित ठाकुर, कटारी ७ का ३९ वर्षीय अरजित तामाङ र कटारी ८ का ५० वर्षीय बिष्णुबहादुर तामाङ रहेका छन्। कटारी ४ जहडीस्थित एक घरमा लागूऔषध बिक्री वितरण भइरहेको विशेष सूचनाका आधारमा खटेको टोलीले अन्दाजी साँझ ५ः०० बजे छापा मार्दा उनीहरू रङ्गेहात पक्राउ परेका हुन्।

घट्नास्थलबाट ११ किलो ६६ ग्राम प्रतिबन्धित लागूऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ। बरामद गाँजा र पक्राउ सबैलाई इलाका प्रहरी कार्यालय कटारीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी केदारमान दोङले बताएका छन्।

प्रकाशित: २५ कार्तिक २०८२ १३:०४ मंगलबार