उदयपुरका एक व्यक्तिले धारिलो हतियार प्रहार गरेर श्रीमतीको हत्या गरी प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।
जिल्लाको चौदण्डीगढी नगरपालिका–२ डाँडागाउँका गन्दुराम राईले शनिबार राति श्रीमतीको हत्या गरेपछि प्रहरी कार्यालय पुगेर आत्मसमर्पण गरेका हुन्।
वडाध्यक्ष हरि खड्कालाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय बेलटारको अनुसार राईले धारिलो हतियार हँसिया प्रहार गर्दा श्रीमती ४४ वर्षीया विमला राईको ज्यान गएको हो।
मध्यराति एकापसमा विवाद हुँदा आवेशमा आएका राईको हँसिया प्रहारबाट विमला गम्भीर घाइते भएकी थिइन्।
स्थानीयले घटनास्थलबाट उठाएर विमलालाई उपचारार्थ नगर अस्पताल बेल्टार पठाएकोमा आइतबार बिहान २ः०० बजे चिकित्सकले मृत घोषित गरेको हो।
अस्पतालले श्रीमतीलाई मृत घोषित गरेपछि ५८ वर्षीय राई नजिकै रहेको प्रहरी कार्यालय गएर घटना स्विकार्दै आत्मसमर्पण गरेको स्थानीयले बताए।
इलाका प्रहरी कार्यालयले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ भने घटनास्थलको कानुनी प्रक्रिया पुरा गरी शव पोस्टमार्टम गर्ने तयारी भइरहेको इप्रकाले जनाएको छ।
प्रकाशित: ४ आश्विन २०८३ १३:१८ आइतबार