अपराध

बेलकाबाट ७८ क्विन्टलभन्दा बढी गाँजा बरामद

उदयपुरमा अहिलेसम्मकै ठूलो परिमाणमा गाँजा बरामद भएको छ। सशस्त्र प्रहरी बलले जिल्लाको बेलका नगरपालिका–८ बाट ७ हजार ८२६ किलो गाँजा नियन्त्रणमा लिएको हो। बरामद गाँजाको परिमाण ७८ क्विन्टलभन्दा बढी छ।

सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले प्राप्त गरेको विशेष सूचनाका आधारमा आइतबार राति उक्त गाँजा बरामद गरिएको हो। बेलका नगरपालिका–८ दिवाजोरस्थित मैनामैनी–कोशी पुल खण्डको भित्री सडकमा शंकास्पद अवस्थामा रहेको ट्रक जाँच गर्ने क्रममा गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

प्रदेश १–०२–००२ ख ०२०६ नम्बरको ट्रकमा लुकाएर राखिएको अवस्थामा गाँजा बरामद भएको हो। ट्रकभित्र २४६ वटा प्लास्टिकका बोरामा प्याक गरिएको प्रतिबन्धित जडीबुटीजन्य लागुऔषध कालो गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी उपरीक्षक (एसपी) विक्रम हुमागाईँको कमान्डमा खटिएको विशेष टोलीले उक्त गाँजा बरामद गरेको हो। इन्टेलिजेन्स ब्युरोको टोलीले सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ गण हेडक्वार्टर त्रियुगा, उदयपुर र नम्बर ४ गण हेडक्वार्टर सुनसरीको संयुक्त टोलीसँगको समन्वयमा कारबाही गरेको जनाएको छ। बरामदगीको विवरण सोमबार सार्वजनिक गरिएको हो।

बरामद गाँजा र ट्रक नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

पछिल्लो समय उदयपुरका विभिन्न स्थानबाट जडीबुटीजन्य लागुऔषध गाँजा पटकपटक बरामद हुँदै आएको छ। जिल्लाको पश्चिमी भेग कटारी तथा पूर्वी क्षेत्र बेलका र चौदण्डीगढीका विभिन्न स्थानबाट गाँजा बरामद हुने गरेको छ। ठूलो परिमाणको गाँजा नियन्त्रणमा लिन सशस्त्र प्रहरीले सक्रियता बढाउँदै आएको छ।

दशैंअघि मात्रै चौदण्डीगढी नगरपालिका–२ को रानीटार तथा कटारी नगरपालिका–६ को साँघुरी र सरस्वती सामुदायिक वन उपभोक्ता समूहको जंगलबाट सय किलोभन्दा बढी गाँजा पटकपटक बरामद भएको थियो। लागुऔषध नियन्त्रणका लागि देशव्यापी रूपमा सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत सशस्त्र प्रहरीले जिल्लामा निगरानी र कारबाही गर्दै आएको जनाएको छ।

प्रकाशित: १६ कार्तिक २०८३ २०:४३ सोमबार