पोखरामा श्रीमतीको हत्या आरोपमा आफ्नै श्रीमान् पक्राउ परेका छन्। पोखरा महानगरपालिका वडा नम्बर–२७ रठ्ठेपानी निवासी जंगे सार्की आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका हुन्। रिठ्ठेपानीको सुकुम्वासी टोलमा बस्दै आएकी श्रीमती जमुना नेपाली साउन ८ गते मृत अवस्थामा भेटिएकी थिइन्।
शव सडेर दुर्गन्धित भएपछि स्थानीयले गरेको खबरका आधारमा गएको प्रहरी टोलीले ढोका फुटाएर हेर्दा श्रीमती नेपालीको शव फेला परेको कास्की प्रहरीले जनाएको छ। प्रहरीका अनुसार साउन ६ गते श्रीमान् श्रीमतीबिच जग्गा बेचबिखनका विषयमा विवाद भएको थियो। विवादका क्रममा श्रीमान् जंगेले श्रीमती जमुनालाई दुई मुक्का हानेर भित्तामा ठोक्काइदिएको प्रारम्भिक अनुसन्धानमा खुलेको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलीले जानकारी दिए।
घटनापश्चात् सो दिन श्रीमान् जंगे नजिकैको अर्को टहरामा सुत्न गएका थिए। राति झगडा गरेर अर्कै घरमा सुतेका उनी भोलिपल्ट पनि छिमेकीकोमा चिया पिएर शिसुवास्थित ठेकेदारलाई भेट्न पुगेको प्रहरीको भनाइ छ। सो दिन साँझ फर्केर जंगेले खाना आफैले बनाएर खाएका तर श्रीमतीको बारेमा चासो नदिएको कास्कीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए। उनले भने, ‘अघिल्लो दिन पनि श्रीमतीको खोजखबर नै गरेनछ, भोलिपल्ट पनि छिमेकीकोमा गएर चिया खाएको पाइयो तर कसैलाई पनि केही नबताएका रहेछन्।’
प्रहरीले मृतकको शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी) मा पठाएको जनाएको छ। पक्राउ परेका सार्कीमाथि अनुसन्धान भइरहेको डिएसपी बस्नेतले बताए।
प्रकाशित: ११ श्रावण २०८२ १७:२८ आइतबार