जुम्लामा लागुऔषधको प्रयोग र कारोबार पछिल्ला वर्षहरूमा बढ्दै गएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार नियन्त्रणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिए पनि लागुऔषधको कारोबार र प्रयोगकर्ताको संख्या घट्न सकेको छैन।
जुम्लाका डीएसपी रबिनबाबु रेग्मीका अनुसार लागुऔषध कारोबार र प्रयोगमा नयाँ पुस्ताको संलग्नता उल्लेखनीय रूपमा देखिएको छ। उनका अनुसार परिवार तथा अभिभावकको हेलचक्र्याइँ र निगरानीको अभावले किशोर तथा युवा उमेर समूह लागुऔषधको लतमा फस्दै गएका हुन्।
प्रहरीका तथ्यांकअनुसार हालसम्म जुम्लामा लागुऔषधसम्बन्धी ४३ वटा मुद्दा दर्ता भएका छन्। ती मुद्दामा ९४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ६८ पुरुष र ३ महिला छन्। भने २३ जना पुरुष फरार रहेका छन्। उनीहरूबाट ब्राउन सुगर २१ ग्राम ३ सय ३७ मिलिग्राम, चरेस २ सय १४ ग्राम ३ सय ७७ मिलिग्राम र ९६ वटा ट्याब्लेट बरामद गरिएको छ।
उमेर समूहका आधारमा हेर्दा १८ वर्षमुनिका १३ जना, १८ देखि ४० वर्षसम्मका ७९ जना र ४० देखि ६० वर्षसम्मका २ जना लागुऔषध मुद्दामा संलग्न रहेको प्रहरीको तथ्यांक छ। लागुऔषधको लतमा फस्नेहरूमा १८ देखि ४० वर्ष उमेर समूहको संख्या सबैभन्दा बढी रहेको प्रहरीले जनाएको छ।
आर्थिक वर्ष २०८०/०८१ मा जुम्लामा १६ वटा लागुऔषध मुद्दा दर्ता भएका थिए। ती सबै मुद्दा फछ्र्यौट भइसकेका छन्। यस अवधिमा ३१ जना पक्राउ परेका थिए, जसमा २४ पुरुष र २ महिला छन् ।भने ५ जना पुरुष फरार छन्। उनीहरूबाट ब्राउन सुगर १० ग्राम ४ सय ७७ मिलिग्राम, चरेस १ सय ८७ ग्राम ६ सय ४८ मिलिग्राम र ३० वटा ट्याब्लेट बरामद गरिएको थियो।
यस अवधिमा १८ वर्षमुनिका ३ जना, १८ देखि ४० वर्षसम्मका २७ जना र ४० देखि ६० वर्षसम्मका १ जना संलग्न थिए।त्यस्तै आर्थिक वर्ष २०८१/०८२ मा ब्राउन सुगर र चरेससम्बन्धी २३ वटा मुद्दा दर्ता भएका थिए। सबै मुद्दा फछ्र्यौट भइसकेको प्रहरीले जनाएको छ। यस अवधिमा ५३ जना पक्राउ परेका थिए।
पक्राउ पर्नेमा ४० पुरुष र १ महिला छन् भने १२ जना पुरुष फरार छन्। उनीहरूबाट ब्राउन सुगर ४ ग्राम ९ सय मिलिग्राम, चरेस २६ ग्राम ७ सय २९ मिलिग्राम र ६६ वटा ट्याब्लेट बरामद गरिएको थियो। उमेर समूहअनुसार १८ वर्षमुनिका ६ जना, १८ देखि ४० वर्षसम्मका ४६ जना र ४० देखि ६० वर्षसम्मका १ जना रहेका छन्।
यस्तै चालु आर्थिक वर्ष २०८२/०८३ मा हालसम्म ४ वटा लागुऔषध मुद्दा दर्ता भएका छन्। ती मुद्दामा १० जना पक्राउ परेका छन्। पक्राउ परेका सबै पुरुष हुन्। भने ६ जना फरार छन्। उनीहरूबाट ५ ग्राम ९ सय ६० मिलिग्राम लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ। यसमा १८ वर्षमुनिका ४ जना र १८ देखि ४० वर्षसम्मका ६ जना रहेका छन्।जुम्लामा पछिल्लो समय लागुऔषधजन्य ट्याब्लेट प्रयोग गर्नेहरूको संख्या पनि बढ्दो क्रममा रहेको प्रहरीले जनाएको छ।
लागुऔषधको बढ्दो प्रयोग समाजका लागि गम्भीर चुनौती र चिन्ताको विषय बनेको स्थानीय बताउँछन्।विशेषगरी कर्णाली राजमार्ग अन्तर्गतका विभिन्न नाकाबाट लागुऔषध भित्रिने क्रम बढेको भन्दै प्रहरीले सीमामा थप कडाइ र निगरानी आवश्यक रहेको जनाएको छ।
लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार गाँजा सेवन गर्ने व्यक्तिलाई एक महिनासम्म कैद वा दुई हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ। २५ बोटसम्म गाँजा खेती गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना र २५ बोटभन्दा बढी खेती गर्नेलाई तीन वर्षसम्म कैद वा पाँच हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था ऐनमा उल्लेख छ।यस्तै, पटक–पटक अपराध गर्ने व्यक्तिलाई थप सजायको व्यवस्था गरिएको छ। एक पटक सजाय पाइसकेको व्यक्तिले पुनः अपराध गरेमा पाँच वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने प्रावधान छ।
प्रकाशित: २ पुस २०८२ १५:१९ बुधबार