उदयपुरगढी गाउँपालिका-५ मौवासीस्थित सतासीधाम मन्दिरको बालाचतुर्दशी मेलामा तीन दिनयता जुवातासको खाल चलेको छ । बालाचतुर्दशी मेलाको बहाना बनाएर सोमबार रातिदेखि नै लाखौलाखको बाजीमा जुवातास खेल जारी रहेको प्रत्यक्षदर्शी स्थानीयले बताएका छन् ।
स्थानीयका अनुसार मौवासीमा रहेको सतासीधाम मन्दिरमा हरेक वर्ष बालाचतुर्दशीका दिन ३ दिने मेला लाग्दै आएको छ । गाउँपालिका, वडा कार्यालय र प्रशासनको समन्वयमा मेला लगाइएको हो । तर, बाचाचतुर्दशीको मौका छोपेर मेलाको दिनभन्दा ४ दिन अघिदेखि नै जुवातास खेल हुँदा पनि नियमन भएको स्थानीय प्रत्यक्षदर्शीले बताए ।
मदन भण्डारी लोकमार्गको गाईघाट–नेपालटार–कटारी खण्डमा पर्ने मौवासी खोलाभन्दा १ किलोमिटर माथि रहेको मन्दिर छ । मौवासीमा हरेक वर्ष बालाचतुर्दशीका दिन भक्तजन पुजारी भेला भएर मृतक परिवारका आफन्तजनले दिवङ्गत आत्माको शान्तिको कामना गर्दै सतबिउ छर्ने गर्छन् । तर, त्यस्तो पवित्र ठाउँलाई जुवातास खेल्ने ठाउँमा रुपान्तरण भएको भन्दै स्थानीयले आपत्ति जनाएका छन् ।
मेलास्थल नजिकै खेतमा पाल टाँगेरै बिजुली बत्तीको व्यवस्थासहित क्यासिनो शैलीमा रातभर जुवातास जम्ने गरेको छ । ‘यहाँ टाढाटाढाका व्यवसायिक जुवाडेहरु भेला भएका छन्’ प्रत्यक्षदर्शी भन्छन् ‘सिराहाको लाहान, सप्तरी, जनकपुर, बिराटनगरदेखि विभिन्न जिल्लाका जुवाडेको जमघट भएको छ ।’
झोलाका झोला पैसा बोकेर आउनेको संख्या बढेकाले अब यसको नियमन हुनुपर्ने स्थानीयले माग गरेका छन् ।
उदयपुरगढी ५ का वडाध्यक्ष कुमार अधिकारीले मेलामा जुवातास खेलाउने कुरा उठ्दा आफुले असहमति जनाएको बताउँदै तर, काम विशेषले ३ दिनयता बाहिर रहेकाले अहिले के भईरहेको छ भन्ने जानकारी नभएको बताए । उनले भने, ‘म काम विशेषले खोटाङको हलेसी तुवाचुङ आईपुगेको छु, त्यहाँ के भईरहेको छ थाहा छैन । मेलाको तयारी गर्ने क्रममा परम्परा धान्न सामान्य जुवातास खेल्न दिने कि भन्ने विषय उठेको थियो, मैले चाहि गैरकानुनी काम गर्न हुन्न भनेर असहमति जनाएको थिएँ ।’
गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरसँग भने सम्पर्क हुन सकेन । गाउँपालिकाका प्रवक्ता सहेक विश्वकर्माले मेला लागिरहेको तर, जुवातास भएको कुरा आफूलाई जानकारी नभएको बताए । मेला वडा कार्यालयको जिम्मामा लगाइएकाले गाउँपालिका त्यसबारे अनजान रहेको उनले बताए । ‘त्यहाँको मन्दिरमा वर्षेनी बालाचतुर्दशी मेला लाग्ने गरेको र यसवर्ष पनि हिजो सुरु भएर भोलिसम्म लाग्छ’ प्रवक्ता विश्वकर्माले भने ‘जुवातास खेलेको, खेलाएको कुरा त थाहा भएन । गैरकानुनी काम नहुनुपर्ने हो ।’
प्रकाशित: ३ मंसिर २०८२ १८:३५ बुधबार