एक सहोदर दाजुले खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन्। त्रियुगा नगरपालिका-१ जोगीदहका ४३ वर्षीय युवराज राईले भाइ ३० वर्षे धर्मराजको हत्या गरेको प्रहरीले जनाएको छ।
शनिबार बिहान २ बजेतिर समयमा धारिलो हतियार प्रयोग गरी युवराजले भाइ धर्मराजको हत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। प्रहरीका अनुसार खुकुरी प्रहारबाट गम्भीर घाइते धर्मराजको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा बिहान ३ बजे निधन भएको हो।
प्रारम्भिक अनुसन्धानमा आमासँग विवाद गर्दै आक्रमणमा उत्रिएका दाजुलाई त्यसो नगर्न सम्झाउँदा उनीमाथि खुकुरी प्रहार भएको खुलेको छ। आमासँग विवाद गरेको देखेर त्यसो नगर्न दाजुलाई सम्झाउँदा खुकुरी झिकेर शरीरका विभिन्न भागमा प्रहार गर्दा धर्मराजको ज्यान गएको आमाको बयानले खुलेको प्रहरी भनाइ छ।
भाइलाई गम्भीर घाइते बनाएर फरार भएका युवराजको खोजी कार्य भइरहेको छ। फरार युवराजको तस्विर सार्वजनिक गर्दै प्रहरीले कतै देखे भेटे तत्काल प्रहरीमा खबर गर्न सूचित गरेको छ। आरोपीको ३ वटा फरक फरक तस्विर सार्वजनिक गर्दै प्रहरीले उनको खोजी थालेको हो।
‘हत्यामा संलग्न राई कहीँ कतै कसैले देखे भेटे नेपाल प्रहरीको आपतकालीन सहायता नं १००, जिल्ला प्रहरी कार्यालय प्रमुख, सबै युनिट कार्यालय, सूचना अधिकारी र प्रहरी परिचालन कक्षमा सम्पर्क गर्न गराइ दिन अनुरोध गर्दछौँ’ प्रहरीले जारी गरेको सूचनामा उल्लेख छ।
प्रकाशित: ५ पुस २०८२ १३:२९ शनिबार