अपराध

ताप्लेजुङमा खैरो हेरोइनको ‘अन्तरदेशीय कनेक्सन’: एक भारतीयसहित पाँच पक्राउ

ताप्लेजुङ प्रहरीले प्रतिबन्धित लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ।

फुङलिङ नगरपालिकाका विभिन्न स्थानबाट जेठ १५ गते तीन जनालाई र शनिबार दुई जनालाई गरि पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार, जेठ १५ गते फुङलिङ नगरपालिका-६, पाथीभरा चोकमा शंकास्पद अवस्थामा भेटिएका तीन युवालाई नियन्त्रणमा लिइएको थियो। उनीहरूको साथबाट प्रहरीले ११६ क्याप्सुल ट्रामाडोल र ५९ ट्याब्लेट डाइसाइक्लोमाइन बरामद गरेको थियो।

पक्राउ पर्नेमा एक १७ एक वर्षीय किशोर, फक्ताङलुङ गाउँपालिका-२ का २७ वर्षीय विमर्स सुन्दास र फुङलिङ-१० का १९ वर्षीय नविन गुरुङ थिए। 

पक्राउ परेका तीनै जनामाथि अनुसन्धान गर्ने क्रममा जिल्लामा खैरो हेरोइनको समेत कारोबार हुने गरेको तथ्य खुलेको थियो। यही सूचनालाई आधार बनाएर प्रहरीले थप अनुसन्धान अगाडि बढायो।

अनुसन्धानकै क्रममा प्रहरीले शनिबार फुङलिङ-६ बाट दुई मुख्य कारोबारीलाई पक्राउ गर्‍यो। पक्राउ पर्नेमा फुङलिङ-९, हाङदेवाका २६ वर्षीय सुजन तामाङ र भारत, दार्जिलिङका २३ वर्षीय निपेन वर्मन रहेका छन्।

तामाङको साथबाट ८ ग्राम ९० मिलिग्राम खैरो हेरोइन, लागुऔषध तौल गर्न प्रयोग हुने डिजिटल तराजु र दुई थान मोबाइल बरामद भएको छ। त्यसैगरी, भारतीय नागरिक वर्मनको साथबाट दुई थान मोबाइल र नगद १७ हजार ५० रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पक्राउ परेका पाँचै जनालाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ अनुसार थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ।

प्रकाशित: २५ जेष्ठ २०८२ १२:२७ आइतबार