अपराध

पाथीभरा केवलकार विवाद : पक्राउ परेका १५ जनालाई थप सात दिन हिरासतमा राख्न अदालतकाे अनुमति

फाइल तस्बिर

शनिबार फुङलिङबाट पक्राउ परेका ‘नो केवलकार’पक्षका १५ जनालाई प्रहरीले ताप्लेजुङ जिल्ला अदालतबाट ७ दिनको म्याद लिई थप अनुसन्धान थालेको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी विवेक बस्नेतका अनुसार पक्राउ परेका १५ जनालाई हुलदंगा र अपराधिक उपद्रव कसुरमा ७ दिनको म्याद लिई अनुसन्धान थालेको हो। उनका अनुसार पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा ६३ बमोजिम हुलदंगा गर्न नहुने तथा सोही संहिताको दफा २८५ बमोजिम अपराधिक उपद्रव गर्न नहुने कसुरमा अनुसन्धान सुरु भएको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं ६ स्थायी घर भई झापाको अर्जुनधारा नगरपालिका वडा नं ११ बस्ने ४८ वर्षीय मित्र लिङदेन, सुनसरीको ईटहरी उपमहानगरपालिका वडा नं ३ का २३ वर्षीय विवेक लिम्बू, पाँचथरको फिदिम नगरपालिका वडा नं ११ का २२ वर्षीय एमन राई, तेह्रथुमको आठराई गाउँपालिका वडा नं ७ घर भई हाल झापाको अर्जुनधारा नगरपालिका वडा नं ११ बस्ने ३० वर्षीय निर्मला बराल (दर्नाल),ताप्लेजुङ जिल्लाको आठराई त्रिबेणी गाउँपालिका वडा नं १ का ४५ वर्षीय नवीन पोमू रहेका छन् ।  

यस्तै मोरङ ग्रामथान गाउँपालिका वडा नं ६ स्थायी वतन भई सुन्दर हरैंचा नगरपालिका वडा नं १० बस्ने ५८ वर्षीय तुलाराम तामाङ,सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं ३ बस्ने १९ वर्षीय जुरन राई, मोरङको उर्लावारी नगरपालिका वडा नं १ बस्ने ३९ वर्षीय हरि लिम्बू, पाँचथरको फालेलुङ गाउँपालिका वडा नं ८ स्थायी घर भई हाल फिदिम नगरपालिका वडा नं १ बस्ने ४० वर्षीय सुनिता केरुङ र सुनसरीको इटहरी उपमहानगरपालिका २ बस्ने ३२ वर्षीय अर्जुन उपनामले चिनिने बिर्खबहादुर तामाङसमेत प्रहरी नियन्त्रणमा रहेका छन् । 

प्रहरीका अनुसार सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं २० बस्ने ३२ वर्षीय अनुप सुब्बा, सोहि उपमहानगरपालिका वडा नं १० बस्ने १९ वर्षीय विशेष सुब्बा, पाँचथरका मिक्लाजुङ गाउँपालिका वडा नं ५ घर भई हाल इलाम नगरपालिका वडा नं ७ बस्ने ५१ वर्षीय योगेन्द्र लावती, झापाको अर्जुनधारा नगरपालिका वडा नं ४ बस्ने २१ वर्षीय निहा चेम्जोङ र झापाकै शिवसताक्षी नगरपालिका वडा नं २ स्थायी वतन भई हाल बिर्तामोड नगरपालिका वडा नं २ बस्ने २० वर्षीय इक्सा लिम्बू अहिले अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेका छन् ।

प्रकाशित: ११ फाल्गुन २०८१ २०:४३ आइतबार

#Pathivara Bibad