भिडियो

मल्लकालीन शैलीमा आधुनिक शारदा

सिमेन्ट र फलामे छडको विकाससँगै माटो जोडाइका घरहरु बन्ने क्रम छुटेको छ। तर भक्तपुर नगरको मध्यतिर इँटा, ढुंगा, काठ, माटोको जोडाइले ठडिँदै गरेको  शारदा माध्यमिक विद्यालय भने धेरैको ध्यान खिचेको छ। खुट्टाले  हिलो मुछेर डोरीको सहायताले बाल्टीन तान्दै गरेको दृश्य सिमेन्टका घरभएको भिडमा फरक देखिँदै छ।  

भक्तपुर नगरपालिका वडा नं.२ यालाछेंस्थित वि.सं. २००९ सालमा स्थापना भएको भक्तपुरको पुरानो र उत्कृष्ट विद्यालयको रुपमा चिनिएको शारदा माध्यमिक विद्यालयको भवन यसरी नै अर्थात् मल्लकालीन शैलीमा पुनर्निर्माण भइरहेको छ। वि.सं. २०७२ साल वैशाख १२ गतेको महाभूकम्पले पूर्ण रुपमा क्षति पुर्‍याएको सो भवन अहिले मल्लकालीन शैलीमा निर्माण भइरहेको देख्दा नजिकैबाट जानेहरु यसो हेर्छन्, अनि कतिपयले त सोध्छन् पनि, ‘अहिलेको समयमा पनि यस्तो घर? कति टिक्ला र ?, स्कुलजस्तो त अझ बलियो बनाउनुपर्ने हैन र?’

‘विद्याय निर्माणमा गुणस्तरीय लस्सादार माटोको प्रयोग भएको छ,' इञ्जिनियर बासुकला भन्छन्, ‘परम्परागत शैलीमा घर तथा भवन बनाउँदा आधुनिक शैलीको भन्दा लागत बढे पनि यो सयौं वर्ष टिक्नेमा ढुक्क छौ।’

इँटा, माटोले जोडेर, दलिनहरुमा चुकुलसहितको काठ राखेर बनिरहेको शारदा स्कुलको सो भवनको डिजाइन गरेका इञ्जिनियर तुल्सीलाल बासुकलाले उक्त शैली र प्रविधिको घर पनि सयौं वर्ष टिक्ने ‘ग्यारेन्टी’ दिएपछि विद्यालय त्यसरी बन्न थालेको हो।  

गुणस्तरीय लस्सादार माटोको प्रयोग भएएको छ, इञ्जिनियर बासुकला भन्छन्, ‘परम्परागत शैलीमा घर तथा भवन बनाउँदा आधुनिक शैलीको भन्दा लागत बढे पनि यो सयौं वर्ष टिक्छ। सिमेन्टको आयु ५० देखि ८० वर्षमात्रै छ नि हैन र?’

एकातिर भूकम्पले क्षति पुर्‍याएको भवन पुनर्निर्माण गर्नेपर्ने आवश्यकता, अर्कोतिर मल्लकालीन भक्तपुर दरबार क्षेत्रको ९९ चोकभित्र बन्ने नयाँ संरचना सम्पदा क्षेत्र अनुकूल हुनुपर्ने अनिवार्यता, यसले गर्दा केही समय दुःख झेलेको विद्यालय भने अहिले सुखद् क्षणको उचाइ लिँदैछ।

‘भक्तपुर दरबार क्षेत्रको ९९ चोकभित्र रहेको हुँदा विद्यालय भवन पनि मल्लकालीन शैलीमा बनाइ रहेका छौं,’ विद्यालयका प्रधानाध्यापक रोशनराज तुइँतुइँले भने। उनले सम्पदा क्षेत्रमा विद्यालय पनि परम्परागत शैलीमा बनाउन सकिन्छ भन्ने नमुनाको रुपमा शारदा स्कुलको भवन निर्माण गरिरहेको बताए। ‘इँटा, ढुंगा, काठ, माटोको जोडाइमा घर तथा भवन बनाउनु मल्लकालीन शैली हो। हामी त्यही शैलीबाट स्कुल बनाइ रहेका छौं,’ प्रधानाध्यापक तुइँतुइँले भने।  

उक्त भवन पुनर्निर्माणको लागि करिब २ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। सो भवन दुई वर्षमा निर्माण गरिसक्ने लक्ष्य रहेको उनको भनाइ छ। तीन तले उक्त भवनमा १४ वटा कोठा हुने छन्। जसमध्ये करिब १० वटा शिक्षणको लागि र बाँकी कार्यालय, पुस्तकालय, प्रयोगशाला, लेखा शाखाको लागि प्रयोग गरिने सो भवनका डिजाइनर इञ्जिनियर बासुकलाले बताए।  

माटो जोडाइबाट बन्ने परम्परागत शैलीको सो भवन भूकम्प प्रतिरोधी समेत रहेको सो भवन निर्माणका लागि भक्तपुर क्षेत्र नं. १ का सांसद प्रेम सुवालको पूर्वाधार क्षेत्र विकास कोषले केही रकम विनियोजन गरेको छ।

प्रकाशित: ११ असार २०७८ ०८:२८ शुक्रबार

मल्लकालीन शैली आधुनिक शारदा