खेल

आर्मीको पहिलो जित

सुदूरपश्चिम प्रदेशमाथि १ सय ६९ रनको फराकिलो जित निकाल्दै विभागीय टोली त्रिभुवन आर्मीले राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकाल्दा अर्को खेलमा एपिएफ र गण्डकीबीच टाई भएको छ।  

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न शुक्रबारको खेलमा आर्मीले सुदूरपश्चिमलाई फराकिलो अन्तरले पराजित गरेर दोस्रो खेलबाट पहिलो जित निकालेको हो। यसअघि पहिलो खेलमा आर्मीले अर्को विभागीय टोली एपिएफलाई ५६ रनको नतिजा सुम्पिएको थियो।  

आर्मीले दिएको २ सय ८३ रनको लक्ष्यसहित जबाफी ब्याटिङ गरेको सुदूरपश्चिमले २९ ओभर ४ बलमा अलआउट हुँदै १ सय १३ रन मात्र बनाउन सक्यो। सुदूरपश्चिमका लागि वसन्त खत्रीले सर्वाधिक २५ रन  

जोड्दा नारायण जोशीले १९ रन, गजेन्द्र भण्डारीले १७ तथा टेक रावलले १५ रन बनाए। वसन्त कार्कीले १४ तथा मिलन बोहराले १२ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन्। सुदूरपश्चिमको इनिङलाई सस्तैमा समेट्ने क्रममा जितेन्द्र मुखियाले ३ विकेट लिए। विक्रम सोब र शादब खानले २÷२ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८२ रन बनाएको थियो। आर्मीका लागि अर्जुन साउदले सर्वाधिक ७३ रनको अर्धशतकीय इनिङ खेले। रोहित पौडेलले ५२ रन जोडे। त्यस्तै कुशल मल्लले ४३ रन जोड्दा भीम सार्कीले ३४ तथा कप्तान विनोद भण्डारीले २८ रन बनाए। विक्रम सोब १५ रनमा अविजित रहँदा सोनु तामाङ १६ रनमा आउट भए। सुदूरपश्चिमका हेमन्त धामी, नारायण जोशी र गजेन्द्र बोहराले २÷२ विकेट लिए। यस जितसँगै आर्मीले २ खेलमा २ अंक जोडेको छ। आर्मी तेस्रो स्थानमा उक्लिएको छ। उता लगातार तेस्रो हार व्यहोरेको सुदूरपश्चिम पुछारमा छ भने सुदूरपश्चिम प्रतियोगिताबाट समेत बाहिरिएको पनि छ।

प्रतियोगिताअन्तर्गत शुक्रबार नै भएको अर्को खेलमा एपिएफ र गण्डकी प्रदेशबीचको खेल टाई भएको छ। यससँगै दुवै टोलीले १–१ अंक बाँडेका छन्। मैदान ओसिलो भएका कारण ४३ ओभरमा घटाइएको खेलमा एपिएफले १ सय १६ रनको लक्ष्य दिँदा गण्डकीले ३१ ओभरमा ९ विकेट गुमाएर १ सय १५ रन मात्र बनाउन सक्यो।  

नौ विकेट गुमिसकेको अवस्थामा ३१औं ओभरको अन्तिम बलमा ब्याटिङमा रहेका कमल परियार मौसम ढकालको बलमा बोल्ड हुँदै पवेलियन फर्किएपछि खेल टाई भएको थियो। यसअघि गण्डकीका अभिषेक बस्नेतले सर्वाधिक २४ रनको पारी खेल्दा ओपनर अर्जुन कुमालले १८, कप्तान विपिन खत्रीले १७ तथा कमल ढकालले ११ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको व्यक्तिगत स्कोर बनाउन सकेनन्। बलिङतर्फ एपिएफका मौसम ढकाल र किशोर महतोले समान ४÷४ विकेट निकाल्दा भुवन कार्कीको नाममा दुई विकेट रह्यो।  

मूलपानी मैदानमा यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपिएफले ३५.१ ओभरमा सबै विकेट गुमाएर १ सय १५ जोडेको थियो। एपिएफका दुवै ओपनरले राम्रो सुरुआत गर्न सकेनन्। एपिएफका लागि भुवन कार्कीले बनाएको नटआउट २४ रनको पारी नै सर्वाधिक रह्यो। यसअघि पूर्ण विकले २३ को व्यक्तिगत स्कोर बनाउँदा लोकेश बम र सन्दीप जोराले समान २२÷२२ रनको योगदान गरे।  

अमर रौटेलाले १३ रन जोड्दा कप्तान शरद् भेषावकर विपिन खत्रीको बलमा बोल्ड हुँदै पवेलियन फर्किएका थिए। एपिएफका तीन ब्याट्सम्यान शून्यमा पवेलियन फर्किएका थिए। बलियो एपिएफलाई रोक्ने क्रममा अमृत गुरुङ र अर्जुन कुमालले समान ३÷३ विकेट लिए। यस्तै सुवास भण्डारीको नाममा २ विकेट रहँदा चन्द्र पौडेल र विपिन खत्रीले १÷१ विकेट निकाले। यससँगै एपिएफ र गण्डकीले समूह ‘ए’ को अंकतालिकामा समान ५ अंक बनाएका छन्। तीन खेलबाट दुवै टोलीले समान २÷२ खेलमा जित निकालेका छन्। एपिएफ रनरेटको आधारमा समूहतालिकाको शीर्ष स्थानमा छ।

प्रतियोगितामा शनिबार पनि दुई खेल हुनेछन्। कीर्तिपुरमा एपिएफ र कर्णालीबीच खेल हुँदा मूलपानी मैदानमा लुम्बिनी र मधेस प्रदेशबीच खेल हुनेछ। 

प्रकाशित: १९ कार्तिक २०७९ ०३:०१ शनिबार

प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट