खेल

पुनः चर्कियो कतारमा मानव अधिकार हननको मुद्दा

कतारी अधिकारीले शनिबार दोहोको मध्यभागमा रहेका केही भवनहरूबाट विदेशी कामदारलाई निकाला गरेसँगै कतारमाथि विश्वकप २०२२ को आयोजना अधिकार पाएदेखि नै लाग्दै आएको मानव अधिकार हननको आरोप पुनः दोहोरिन थालेको छ।

महानगरपालिकाका कर्मचारी र सुरक्षा अधिकारीले बुधबारबाट ती भागमा रहेका विभिन्न १२ भवनबाट विदेशी कामदारलाई निकालेका थिए। कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुँदै छ। विश्वकप सुरु हुन २२ दिन बाँकी छँदा घटेको यो घटनालाई विशेष चासोका साथ हेरिएको छ। कतारी अधिकारीले भने विदेशी कामदारको सुरक्षाका लागि नै उनीहरूलाई अन्यत्र सारिएको र उनीहरू बस्दै आएको भवन बस्नलायक नरहेको दाबी गरेका छन्। साथै कतारी अधिकारीले त्यहाँ बसोबास गर्ने कामदारलाई भवन सर्नका लागि अग्रिम सूचना जारी गरिसकेको पनि दाबी गरेका छन्।

अल मन्सौरामा केही वर्ष अघि मात्र पुनर्निर्माण सम्पन्न गरिएको स्थान हो, जहाँ विश्वकप हेर्न आउने समर्थकको बसोबासका लागि अपार्टमेन्टको व्यवस्था गरिएको छ। बंगलादेशी नागरिक युनुस त्यस क्षेत्रमा ट्रक चलाउँछन्। उनलाई पनि तीन दिन अघि मात्र त्यो भवनबाट निकालिएको थियो। उनका लागि बाटोमा पार्क गरिराखेको ट्रक नै घरजस्तै बनेको छ। ‘पहिलो दिन निकै अव्यवस्थित ढंगबाट हामीलाई भवनबाट निकालिएको थियो। धेरै संख्यामा कामदारहरू एकसाथ निकालिएका कारण हामीलाई नयाँ स्थानमा बास पाउन समस्या भयो,’युनुसले भने, ‘यो ट्रक नै मेरो जीवन हो र नयाँ स्थानको व्यवस्था नभएसम्म म यहाँबाट अन्यत्र सर्ने पक्षमा छैन।’

कतारी अधिकारीले विदेशी कामदार रहेका भवन खाली गराएको यो तेस्रो पटक हो। कतारमा अधिकांश विदेशी कामदारहरू नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, फिलिपिन्स साथै अफ्रिकी राष्ट्र केन्या र युगान्डाका छन्।

कतारले सन् २०२२ को विश्वकप अधिकार पाएसँगै विदेशी कामदारमाथि श्रम शोषण गरेको आरोप लाग्दै आएको छ। कतारले भने नियोजित रूपमा आफूहरूमाथि झुटा आरोप लगाइएको भन्दै त्यसको खण्डन गर्दै आएको छ। कतारी अधिकारीले पनि अव्यवस्थित भवन हटाउन पाउने कानुनी व्यवस्था रहेकाले त्यसैअनुरूप कार्य गरेको बताएको छ। ‘अव्यवस्थित भवनहरूमा विनासम्झौता बसोबास गर्दै आएका विदेशी कामदारलाई निश्चित समयसीमा दिएर अयन्त्र सर्नका लागि समय उपलब्ध गराएको थियौं,‘कतारी अधिकारीले भनेका छन्।

प्रकाशित: १३ कार्तिक २०७९ ०३:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App