'व्यक्तिगत शतकमा म पक्कै पनि खुसी छु। आज मबाट यस्तो प्रदर्शन आवश्यक थियो। म आफ्नो प्रदर्शनभन्दा पनि टिमको जितमा खुसी छु,' पहिलो इनिङमा दुई क्याच छाडेका पारसले खेलपछि भने, 'पहिलो इनिङको गल्तीका कारण पनि मैले गर्नैपर्ने थियो। आज विनोद (भण्डारी), ज्ञानु (ज्ञानेन्द्र मल्ल) र शरदले राम्रो गरे। शरदले दुवै खेलमा विजयी प्रदर्शन गरेका छन्। उसको प्रदर्शनले आगामी खेलमा पनि निरन्तरता पाउने आशा छ।'
सोमबारकै खेलबाट पारस व्यक्तिगत करिअरमा दोस्रो तथा नेपाली खेलाडीको तर्फबाट नवौं अन्तर्राष्ट्रिय शतक बनाउन सफल भए। लिस्ट ए का खेलमा भने यो नेपाली खेलाडीका तर्फबाट बनेको दोस्रो शतक हो। यसअघि गतवर्ष अगस्टमा स्कटल्यान्डविरुद्धको खेलमा अनिल मण्डलले १ सय रन बनाएका थिए। उनीसँगै शरद र ज्ञानेन्द्रको लिस्ट ए क्रिकेटमा व्यक्तिगत रनसंख्या ५ सय नाघ्यो। यसैगरी वसन्त लिस्ट ए मा २५ विकेट लिने पहिलो खेलाडी बने।
पारसले सोमबार ४५ बलमा ३ चौका र ३ छक्कासहित अर्धशतक पूरा गरेका थिए। पछिल्लो ५० रन जोड्दा उनले थप ४४ बलमा दुई चौका र ४ छक्का थपेका थिए।
लिस्ट ए खेलमा सोमबार उच्च स्कोर गरेका पारसले यो स्तरका १७ खेलमा ३३.५२ को औसतमा ५ सय ७० रन बनाएका छन्। जसमा चार अर्धशतक सामेल छन्।
यसैगरी सोमबार अविजित ७४ रन बनाएका शरदको १८ लिस्ट ए खेलमा ३८.५७ को औसतमा ५ सय ४० रन पुगेको छ। सोमबारको २२ रनसँगै टोलीका उपकप्तान ज्ञानेन्द्रको पनि लिस्ट ए मा कुल रनसंख्या ५ सय ४ पुगेको छ। वसन्तले १७ खेलमा विकेटसंख्या २५ पुर्यााएका छन्।
प्रकाशित: ६ वैशाख २०७३ २२:४७ सोमबार