खेल

नवौं राष्ट्रिय खेलकुदः खेल्ने ठाउँमा कतै पानी चुहिन्छ, कतै अँध्यारो

‘हलबाट पानी चुहिन्छ। लाइटको उचित व्यवस्थापन छैन। बजेट कसैले दिँदैनन्,’ कास्की जिल्ला व्याडमिन्टन संघले हलको यर्थाथता सुनायो। नवौं राष्ट्रिय खेलकुद नजिकिंदै गएको छ। व्याडमिन्टन हल १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अघि मात्रै सम्पन्न गरिएको थियो। हल अहिले चुहिन थालेको छ। मर्मत सम्भार नगरी राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न सकिने सम्भावना नभएको संघले गुनासो गर्दै आएको छ।

‘छानाबाट पानी चुहिन्छ। चुहिएको ठाँउ मर्मत गर्नुपर्छ,’ कास्की जिल्ला व्याडमिन्टन संघका अध्यक्ष शुसील श्रेष्ठले भने, ‘लाइटको व्यवस्था गर्नुपर्छ। अस्थायी प्यारापिट बनाउनुपर्ने देखिन्छ।’ उनका अनुसार लाइटसँगै प्यारापिट बनाउन आवश्यक बजेट अभावले संघ रुमलिएको छ। ‘मर्मत सम्भारको लागि कति पैसा छुट्टाएका छन्। कहिले मर्मत गर्ने हो मेलोमेसो छैन्,’ उनको भनाइ थियो।

केही दिनअघि  मात्रै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङसहितको टोलीले पोखरा रंगशालाभित्रका कभर्ड हलहरुको निरिक्षण गरेर फर्किएको थियो।

बहुउद्देश्यीय कभर्ड हलमा पनि पानी चुहिन्छ। बत्ती छैन। उज्यालो कम हुँदा प्रतियोगिता सञ्चालन गर्नै कठिनाइ हुन्छ। आन्तरिक स्रोतमा पोखरा रंगशाला धनी छ। तर भएको आन्तरिक स्रोतलाई परिचालन गरेर मर्मत सम्भार समेत गर्न सकेको छैन। आन्तरिक स्रोत के मा खर्च हुन्छ मेसो कसैले पाएका छैनन्। तीन महिनाअघि हलमा आगलागी भएको थियो। त्यसपछि हल पूर्णरुपमा बत्तीविहीन छ।

कभर्ड हल बाहेक अन्य खेलकुद पूर्वाधार समेत मर्मत सम्भार हुनै सकेको छैन। प्रतियोगिताकै मुखमा मर्मत सम्भार गर्ने परिपाटी बस्दै आएको छ। पोखरा रंगशाला क्रिकेट मैदान अझै पूर्णरुपमा तयारी अवस्थामा छैन। नियमित पानी परेको छ। आउट फिल्ड पूर्णरुपमा बनाइएको छैन। उबडखाबड छ आउट फिल्ड। खेलाडीले व्यक्तिगत जोखिममा खेल्नुपर्ने बाध्यता छ।

‘१० लाख रुपैयाँ छुट्टाइएको छ। त्यो बजेटले साइडस्क्रीन र पीच मात्रै बन्छ,’ कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले भने, ‘ग्राउण्ड मर्मतको लागि इष्टिमेट गरेर पैसा दिनुहोस् भनेर हामीले भनेका छौं।’ पैसा नहुँदा आउटफिल्ड बनाउन सक्ने अवस्था छैन। ‘जे छ त्यसैमा खेलाउनुको विकल्प छैन,’उनको भनाइ थियो।

पोखरा–१९ लामाचौरस्थित गोस्ते खेल मैदानमा फुटबल खेलाउने निर्णय भइसकेको छ। फुटबल खेलाउने निर्णय भएपनि मैदानसहित अन्य पूर्वाधार बनाउनै पर्ने देखिएको छ। खेलाडीलाई अत्यवश्यक चेन्जिङ रुम र शौचालय पूर्णरुपमा तयार भइसकेको छैन।

‘चेन्जिङ रुम र शौचालय बनाउनुपर्ने छ। त्यसको लागि भुइँ ढलान गर्नुपर्छ,’ गोस्ते खेल मैदान निर्माण उपभोक्ता समितिका सचिव एवं कास्की जिल्ला फुटबल संघका महासचिव बुद्धिबहादुर खत्री क्षत्रीले भने, ‘परिषदले छुट्टाएको पैसाले भुइँ ढलानलाई मात्रै ठिक्क हुन्छ। अरु बनाउने पैसा छैन।’

उनका अनुसार परिषदले १० लाख रुपैयाँ छुट्टाएको छ। छुट्टिएको पैसाबाट मैदान मर्मत, सरसफाई लगायतका सबै काम सक्नुपर्ने दबाव रहेको उनले बताए। उनले प्रदेश खेलकुद परिषदसँग ४५ लाख रुपैयाँ खर्च हुने अनुमानसहित बजेट माग गरिएको सुनाए।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै लागि पोखरा रंगशालामा कुनैपनि पूर्वाधार बनेन्। मर्मत सम्भार समेत हुन सकेको छैन। खेल व्यवस्थापन समितिले खेलस्थलको निरिक्षण गरिसकेको छ। यद्दपि बजेटको निकासा नहुँदा काम हुन सकेको छैन। पोखरा रंगशाला टेनिस कोर्टको हालत पनि उस्तै छ। ६ वटै कोर्टमा प्रतियोगिता खेलाउने योजनामा कास्की जिल्ला टेनिस संघ छ।

‘कोर्टको लागि आवश्यक सुर्की अर्डर गरेर पनि आइसकेको छ। नेट फेर्नुपर्ने छ। चुना चाहिन्छ। तर मर्मतको लागि चासो दिएको छैनन्,’ संघका अध्यक्ष लोकबहादुर गुरुङले गुनासो गरे, ‘हामीले १५ लाख रुपैयाँ माग गरेका थियौं। तर कसैबाट बजेट आएको छैन।’

राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेशको क्लोजक्याम्प अझै सुरु भएको छैन। उनका अनुसार प्रदेश खेलकुद परिषद र खेल व्यवस्थापन उपसमितिले संघहरुसँग कुनै समन्वय नै गरेका छैनन। ‘चासो नदिने र समन्वय नै नगर्ने स्थितिमा खेल खेलाउनै गाह्रो छ,’ उनको भनाइ थियो।  

प्रकाशित: १ आश्विन २०७९ ०८:३७ शनिबार

नवौं राष्ट्रिय खेलकुद खेल्ने ठाउँ