खेल

साफ महिला च्याम्पियनसीपमा नेपालको विजयी सुरुआत

फाेटाेः प्रसन गुरुङ नागरिक

साफ महिला च्याम्पियनसीपमा नेपालले घरेलु मैदानमा भुटानविरुद्ध विजयी सुरुवात गरेको छ।  

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उद्घाटन खेलमा भुटानलाई ४–० गोल अन्तरले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो।  

नेपालको जितमा सावित्रा भण्डारी र अनिता बस्नेतले दुई–दुई गोल गरिन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलको १२औं मिनेटमा  अमिषा कार्कीको पासमा सावित्राले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्।  

खेलको ६८ औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाएकी थिइन्। खेलको ७३ औं मिनेटमा अनिताले गोल गर्दै नेपाललाई ३–० को अग्रता दिलाएकी थिइन्। त्यसपछि खेलको ८५ औं मिनेटमा अनिताले दोस्रो गोल गर्दै नेपाललाई ४–० गोलको जित दिलाईन्।

नेपालले समूह ’बी’ को पहिलो खेलमा जित निकालेसँगै ३ अंक जोडेको छ। भुटानले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ। अब नेपालले दोस्रो तथा समूह चरणको अन्तिम खेलमा भदौ २८ गते श्रीलंकासँग खेल्नेछ।

प्रकाशित: २१ भाद्र २०७९ १३:५० मंगलबार

साफ महिला च्याम्पियनसीप नेपाल भुटान