खेल

बाग्मतीबाट बक्सर छनोट

गण्डकी प्रदेशमा तय आगामी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मंगलबार बाग्मती प्रदेशबाट बक्सिङमा १३ पुरुष र १० महिला बक्सर छनोट भएका छन्।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको बक्सिङ हलमा मंगलबार पुरुषतर्फ १३ र महिलामा १० तौलसमूहमा छनोट सम्पन्न भएको हो। मंगलबार महिला ५० केजी तौलसमूहमा भक्तपुरकी अस्मिता दुवाल छनोट भइन्। 

उनले फाइनलमा काभ्रेकी प्रतिष्ठा अर्याललाई ३–२ (स्पिलिट डिसिजन) को आधारमा पराजित गरिन्। पुरुष ४८ केजी तौलसमूहमा काठमाडौंका रविन थापा छनोट भए। रविनले काभ्रेका लक्ष्मण राईलाई ५–० को आधारमा हराए। पुरुषकै ५४ केजी तौलसमूहमा काठमाडाैंका मदनकृष्ण डंगोलले मकवानपुरका सुदेश मानन्धरलाई ४–१ ले हराउँदै नवौंमा स्थान पक्का गरे।

त्यस्तै पुरुष ६० केजी तौलसमूहमा काठमाडाैंका सुलभ मालीले काठमाडौंकै मार्सल गुरुङलाई हराउँदै गण्डकीको यात्रा तय गरेका छन्। ६३.५ केजी तौलसमूहमा रसुवाका मौसम रानामगर छनोट भए।

उनले फाइनलमा काठमाडाैंका मनीष श्रेष्ठलाई ५–० ले हराए। पुरुषतर्फनै ६७ केजी तौलमा मकवानपुरका अमन श्रेष्ठ र ७१ केजी तौलसमूहमा काठमाडौंका प्रमोद राई छनोट भए। अमनले काठमाडाैंका प्रशान्त तामाङ र प्रमोदले काठमाडौकै कलिम खानलाई हराए।  

पुरुष ७५ केजीमा काभ्रेका विनिश राई रामेछापका मनोज तामाङलाई हराउँदै छनोट भए। पुरुषको ९२ केजी तौलसमूहमा भने काठमाडाैंका साहिल महर्जनले चितवनका विभान गुरुङबाट वाकओभर पाए।

९२ केजीमाथि भने काभ्रेका उज्वल बस्नेतले ललितपुरका आसुतोष भण्डारीलाई स्तब्ध बनाउँदै बाग्मतीको बक्सिङ टोलीमा स्थान पक्का गरे। यसअघि पुरुषतर्फ ५१ केजीमा लालप्रसाद उप्रेती (काभ्रे), ५७ केजीमा सुरज महर्जन (काठमाडाैं), ८० केजीमा मोहन तामाङ (काठमाडाैं) र ८६ केजीमा सुजन बोहोरा (काठमाडौं) छनोट भइसकेका छन्।

महिलातर्फ भने ४६–४८ केजीमा सुष्मा तामाङ (काठमाडाैं), ५२ केजीमा विविसा श्रेष्ठ (काभ्रे), ५४ केजीमा पेमा श्रेष्ठ (काभ्रे), ५७ केजीमा हेमा राई (काभ्रे), ६० केजीमा डेचेन शेर्पा (काभ्रे), ६३ केजी जेविका थापा (काभ्रे), ६६ केजीमा स्मृति श्रेष्ठ (काठमाडौं), ६९ केजीमा कबुना श्रेष्ठ (काठमाडाैं) र ७५ केजीमा निस्मा गुरुङ (काभ्रे) छनोट भइसकेका छन्।

उक्त छनोटमा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, संघका पदाधिकारी र बागमती प्रदेश खेलकुद परिषद्का पदाधिकारीलगायतको उपस्थिति थियो। 

प्रकाशित: १५ भाद्र २०७९ ०२:०१ बुधबार

बाग्मतीबाट बक्सर छनोट गण्डकी प्रदेश सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर