खेल

नवौं राष्ट्रिय खेलकुदः गण्डकी प्रदेशमै प्रशिक्षक छैनन्

स्वयंसेवक प्रशिक्षकलाई करारमा राख्छौं–मन्त्री गहतराज

युवा तथा खेलकुद मन्त्री गहतराज, प्रदेश मुख्यमन्त्री पोखरेल र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यसहित नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पोखरा रंगशालास्थित सचिवालय उदघाटन गर्दै। तस्बिरः उमेश पुन/नागरिक

नवौं राष्ट्रिय खेलकुदको तयारी शुरु भईसकेको छ। गण्डकी प्रदेशको राजधानी पोखराबाटै प्रशिक्षण एवं छनोट प्रतियोगिता शुरु भएको दुईदिन अघि घोषणा गरिएको थियो। नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल प्रतिस्पर्धा र २ खेल प्रदर्शनी गरी ३८ खेल समावेश गरिएको छ। समय घर्किदैं जादाँ मनाङ, मुस्ताङ, तनहुँ र लमजुङमा कोही पनि प्रशिक्षण छैनन। बाँकी ७ जिल्लामा पर्वतमा एकजना, गोरखामा दुईजना, म्याग्दीमा एकजना, बाग्लुङमा तीन जना, नवलपुरमा दुईजना, स्याङजामा एकजना र कास्कीमा पाँचजना प्रशिक्षक छन्। अधिकांश प्रशिक्षक तेक्वान्दो र सितेरियो कराँतेको मात्रै छन्।  

‘लमजुङमा खेलकुदको प्रशासन नै छैन्। प्रशासन नभएपछि प्रशिक्षक हुने कुरै भएन्,’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले भने, ‘मनाङ, मुस्ताङ र तनहुँमा कुनैपनि खेलका प्रशिक्षक छैनन्।’ उनका अनुसार खेल धान्ने काम स्वयंसेवक प्रशिक्षकले गर्दै आएका छन्। उनै स्वयंसेवक प्रशिक्षकको काँधमा गण्डकी प्रदेशलाई पदक दिलाउने जिम्मेवारी छ।  

प्रदेशकै राजधानी पोखरामा केवल भलिबल, भारोत्तोलन, शारीरिक सुगठन, कराँते(सितेरियो) र तेक्वान्दोको मात्रै राष्ट्रिय खेलकुद परिषदका प्रशिक्षक छन्। उसुका प्रशिक्षकले केही समय अघि मात्रै स्वेच्छिक अवकाश लिईसकेका छन्। स्याङजामा फुलकन्ट्याक्ट कराँते, नवलपुरमा सितेरियो कराँते, बाग्लुङमा जिमन्याष्टिक, तेक्वान्दो र उसु, म्याग्दीमा तेक्वान्दो, गोरखामा तेक्वान्दो र कराँते तथा पर्वतमा एथलेटिक्सका प्रशिक्षक छन्।  

नवौं राष्ट्रिय खेलकुदमा फुटबल, क्रिकेट ,भलिबल, एथलेटिक्स, व्याडमिन्टन, टेबल टेनिस, हक्की, बक्सिङ,कबड्डी, भारोत्तोलन, सुटिङ, जिम्न्याष्टिक, पौडी, ह्याण्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, बुद्धिचाल, खो खो, कराँते, फुलकन्ट्याक्ट कराँते, आईटिएफ तेक्वान्दो, सेपाक ताक्रो, गल्फ, आर्चरी, साईक्लिङ, फेन्सिङ, ट्रयाथोलन, प्याराग्लाईडिङ, रग्बी(सेभेन ए साईड), छेलो(प्रदर्शनी) र क्यानोनिङ(प्रदर्शन) खेललाई समावेश गरिएको छ।  

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि संघीय सरकारले आवश्यक बजेट निकासा गरिसकेको पोखरा रंगशालास्थित नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सचिवालयको आईतबार उदघाटन गर्दै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले भने, ‘बजेटकै समस्याले अब खेलकुद रोकिदैन्।’ उनका अनुसार राष्ट्रिय खेलकुद प्रतियोगिता तीनै तहको सरकारको साझा दायित्व र जिम्मेवार हो। उनले राष्ट्रिय प्रतियोगिताको लागि आवश्यक प्राविधिकहरु कति चाहिन्छ त्यसको यकिन गरेर करारमा खटाउने तयारी समेत रहेको बताए।  

‘राष्ट्रिय खेलकुद परिषदले आवश्यक प्राविधिक(प्रशिक्षक) कति चाहिन्छ, यकिन गर्ने छौं। जहाँ आवश्यकता छ त्यहाँ स्वयंसेवक प्रशिक्षकलाई करारमा नियुक्ति गरेर प्रशिक्षण शुरु गराउने छौं,’ उनको भनाई थियो। ‘खेलकुदलाई पर्यटनसँग जोड्नुपर्छ। पोखरा आफैंमा पर्यटकीय क्षेत्र। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता मार्फत पर्यटन प्रवद्र्धन गर्नुपर्छ,’ मन्त्री गहतराजको भनाई थियो। संघीयतामा गईसकेको अवस्थामा गण्डकी प्रदेश र पोखरा महानगरपालिकाले पनि नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई सभ्य र भव्य बनाउने तर्फ केन्द्रीत हुनुपर्नेमा मन्त्री गहतराजको आग्रह थियो। ‘सबै काम सचिवालयबाटै हुन्छ । संघीय सरकारले आर्थिक व्यवस्थापन गर्छ ।’ उनको भनाई थियो।  

सचिवालय उदघाटन समारोहमा बोल्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले राष्ट्रलाई एकताको सुत्रमा बाँध्ने नै खेलकुद क्षेत्र भएको उल्लेख गर्दै नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई सबै कुरामा सबै हिसाबले साथ सहयोगमा रहने प्रतिबद्धता व्यक्त गरे। उदघाटन समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली समेत सरिक थिए।  

प्रकाशित: ५ भाद्र २०७९ ०८:०८ आइतबार

गण्डकी प्रदेश नवौं राष्ट्रिय खेलकुद प्रशिक्षक