खेल

मुवाँथाई टोलीको बिदाइ

अन्तर्राष्ट्रिय मुवाँथाई विजेता गुणराज रुचालले कम्बोडियामा प्रोफेसनल फाइट खेल्ने भएका छन्।

रुचालले आगामी भदौ चार गते कम्बोडियाको नोम पेन्हमा आयोजना हुने प्रोफेसनल फाइट खेल्न लागेका हुन्। उक्त फाइटमा रुचालले ५७ केजी तौलसमूहको प्रतिस्पर्धामा कम्बोडियाका खेलाडी थुन इङ्लेविरुद्ध चुनौती प्रस्तुत गर्दै छन्। रुचालको प्रशिक्षकमा विजय लामा छन्। 

मंगलबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा आयोजित एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ र नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले शुभकामनासहित दुई सदस्यीय नेपाली टोलीको बिदाइ गरे।

सो अवसरमा घिसिङले प्रोफेसनल फाइटमा राम्रो प्रदर्शन गर्दै आइरहेका खेलाडीले यस पटक पनि उँचो प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको र उनको प्रतिस्पर्धा आफू पनि प्रत्यक्ष हेर्ने बताए। 

उक्त टोली बुधबार थाइल्यान्डतर्फ प्रस्थान गर्नेछ। रुचालले थाइल्यान्डको टप फाइट मुवाँथाई जिममा एक हप्ता प्रशिक्षण लिने कार्यक्रम छ। एक हप्ताको प्रशिक्षणपश्चात् हुने प्रतिस्पर्धाका लागि रुचाल कम्बोडिया प्रस्थान गर्नेछन्।  

प्रकाशित: २५ श्रावण २०७९ ०१:१५ बुधबार

मुवाँथाई टोलीको बिदाइ कम्बोडियामा प्रोफेसनल फाइट