खेल

साग तयारीमा विलम्ब

काठमाडौं- राष्टिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले पदभार ग्रहण गर्नेक्रममा ६ महिनाअघि भनेका थिए, 'आगामी चारवर्ष नेपाली खेलकुद इतिहासमा स्वर्णकाल हुनेछ।' विष्टको कार्यकाल सुरु भएको पहिलो वर्ष नै नेपाली खेलकुदमा निकै महत्र्व राख्ने दक्षिण एसियाली खेलकुद (साग) को १२ औं संस्करण भारतमा हुँदैछ। ठूला पदकको आश गर्ने एकमात्र अन्तर्राष्ट्रिय खेलमहोत्सव भएकाले साग नेपाली खेलकुदका लागि महत्र्वपूर्ण प्रतियोगिता हो।

पछिल्लो पटक सन् २०११ मा भएको साग पाँच वर्षपछि हुँदैछ। त्यसैले विष्टको कार्यकालमा अर्को साग नहुन सक्छ। आफ्नो कार्यकाललाई स्वर्णकाल बनाउने घोषणा गरेका सदस्यसचिवलाई साग त्यसका लागि सबैभन्दा राम्रो मौका हुनसक्छ।

भारतको गुहाटीमा साग सुरु डेढ महिना पनि बाँकी छैन। तर, अझैसम्म विष्ट नेतृत्वको राखेपले सागमा सहभागिता जनाउने खेलको समेत औपचारिक टुंगो लगाएको छैन। तयारी त परै जाओस्। सागमा समावेश गरिएका सबै २३ खेलका सम्बन्धित राष्ट्रिय संघले आ–आफ्नै ढंगमा खेलाडी छनोट तथा तयारी सुरु गरेका छन्। तर, राखेपबाट हुनुपर्ने संगठित तयारी सुरु भएको छैन, बन्द प्रशिक्षण सिविर त परै जाओस्।

नेपालले पदक जित्ने बलियो सम्भावना बोकेको कराते आयोजक भारतले समावेश गरेको छैन भने तेक्वान्दोमा पनि अघिल्लो सागका स्वर्ण पदकधारी दीपक विष्ट तथा उसुका आङ्बाबु लामा र विनिता महर्जनको सहभागिता रहने छैन। विष्टले खेलजीवनबाट संन्यास लिइसकेका छन् भने विनिता अस्ट्रेलियातिर लागिसकेकी छिन्। यसैगरी आङ्बाबु पनि यसपालि छनोट प्रतियोगितामै सहभागी भएनन्। तेक्वान्दोको छनोटमा सफलता हासिल गरे आयशा शाक्य १२ औं सागमा सहभागी हुने अघिल्लो संस्करणकी एकमात्र स्वर्ण पदक विजेता हुनेछिन्।

पदक जित्ने सम्भावना बोकेको खेल हटाइएका बेला अन्य खेलबाट विगतको साख जोगाउन तयारीमा धेरै मिहिनेत गर्नुपर्ने विज्ञहरू बताउँछन्। तर, राखेपले सागको तयारीमा आवश्यक तत्परता नदेखाएको उनीहरूको आरोप छ।

'कराते नहुनु नेपालका लागि बिडम्बना हो। हामीलाई यसले ठूलो झट्का लागेको छ। कराते नहुँदा पदकतालिकामा नेपाललाई घाटा हुन्छ। अहिले खेलकुदलाई सरकारले गरेको व्यवहार, तयारीको अवस्था र भुइँचालो तथा नाकाबन्दीका कारण खेलाडीको मनस्थिति राम्रो छैन। यो सब कारणले गर्दा पदक जित्न गाह्रो छ,' यसअघिका चार संस्करणमा लगातार स्वर्ण पदक जितेका तेक्वान्दो सुपर स्टार दीपक विष्टले भने, 'यस्तो कठिन अवस्थामा खेलकुद परिषदले सम्भावना बोकेका खेललाई पदक जित्नका लागि विशेष रूपले तयार पार्नुपर्ने थियो। तर, अहिले त विगतको तुलनामा नगन्यमात्र तयारी भएको छ। परिषदले अहिलेसम्म झारो टार्नेबाहेक केही गरेको छैन।'

काठमाडौंमा सन् १९९९ मा सम्पन्न आठौं दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) नेपालका लागि अहिलेसम्मकै सफल थियो। कराते र तेक्वान्दोले १४–१४ स्वर्ण जित्दा नेपाल कुल ३२ स्वर्ण पदकसाथ दोस्रो भएको थियो। त्यसयता नेपालको नतिजा प्रत्येक संस्करणमा खस्कँदै गएको छ। कीर्तिमानी ओलम्पियन खेलाडी विष्ट भन्छन्, 'अहिलेसम्म नेपाली खेलकुदको सफलता भनेको सम्बन्धित संघको प्रयास र खेलाडीको बलबुताका भरमा आएका हुन्। राज्यले संगठित रूपमै नतिजाका लागि वैज्ञानिक तयारी कहिल्यै गरेको छैन। जबसम्म राज्य खेलकुदप्रति गम्भीर हुँदैन। तबसम्म पदक आश गर्नु न्यायोचित हुन्न।'

आठौं साफमा सहभागिता जनाउनुअघि १ वर्ष बन्द प्रशिक्षण सिविरमा बसेर विशेष तयारी गरेको सम्झँदै विष्टले यसपालिको तयारी सबैभन्दा कमजोर भएको बताए। 'आठौं साफका लागि हामी १ वर्ष बन्द प्रशिक्षण सिविरमा बसेका थियौं। पाकिस्तानमा भएको नवौं साफ सुरुमा निर्धारित समयमा भएन। हामी दुईपटक ६/६ महिना गरी १ वर्षको विशेष तयारी गर्यौं । १० औं मा ६ महिना र ११ औं मा पनि तीन महिनाको बन्द प्रशिक्षण सिविर तथा त्यसअघि ६ महिना विशेष तयारी गरेका थियौं,' पहिलोपल्ट खेलाडीका रूपमा अनुपस्थित हुने भए पनि प्रशिक्षक भएर टोली तयार गरिरहेका विष्टले सम्भि्कए, 'यसपालि बन्द प्रशिक्षण सिविर राख्ने त कुरै नगरौं, अहिलेसम्म पदकको ठूलो सम्भावना बोकेको तेक्वान्दो लगायत कतिपय खेलमा खेलाडी छनोट पनि भएको छैन। पदक चाहिने, तर त्यसका लागि गर्नुपर्ने तयारी चाहिँ नगर्ने यस्तो बिडम्बना नेपाली खेलाडीले भोगिरहेका ाक छन्।'

फेब्रुअरी ६ बाट हुने साग आउन ३५ दिनमात्र बाँकी रहँदासम्म तेक्वान्दो, फुटबल, साइक्लिङ र स्क्वासको अन्तिम छनोट हुनसकेको छैन। तेक्वान्दोमा आन्तरिक विवादका कारण छनोट हुन सकेको छैन भने अन्य खेलमा छनोटको तयारी भइरहेको बताइएको छ। परिषदका सदस्यसचिव केशवकुमार विष्टले फुटबलको छनोट जिम्मा अखिल नेपाल फुटबल संघले लिएको बताए भने साइक्लिङ र स्क्वासको पनि केही दिनभित्रै छनोट भइसक्ने जानकारी गराए।

सरकारले समयमा बजेट निकासा नगरेका कारण चाहेजस्तो तयारी गर्न नसकेको विष्टको भनाइ थियो। सरकारबाट बजेट नआए पनि परिषदले तयारीको कुनै काम नरोकेको बताउँदै विष्टले भने, 'कर्मचारीतन्त्रले उदासिन व्यवहार गर्दा अर्थ मन्त्रालयले पास गरिसकेको बजेट पनि परिषदसम्म आउन सकेको छैन। त्यसका कारण सागको तयारी प्रभावित भएको पक्कै हो। तर, हामीले बजेट नआए पनि संघहरूसँग सहकार्य गर्दै सबै खेलको छनोट गरिरहेका छौं। संघहरूले उधारोमा काम गरिरहेका छन्।'

परिषदले आफ्नो काम पूरा इमान्दारी र प्रतिवद्धताका साथ गरिरहेको दाबी गर्दै सदस्यसचिव विष्टले परिषदभन्दा माथिबाट भएका गल्तीको जिम्मेवारी लिन नसक्ने बताए। 'हामीले बजेटका लागि माग गरेर पठाएको ४५ दिन भयो। अहिलेसम्म त्यो निकासा भएको छैन,' शुक्रबार नागरिकसँग कुरा गर्दै विष्टले भने, 'समयमै बजेट आएको भए वैदेशिक प्रशिक्षण लगायतका विशेष तयारी गर्न सकिन्थ्यो। तथापि हामीले आफ्नो काममा कुनै कसर छोडेका छैनौं। परिषदसँग इच्छाशक्ति नभएको भए यसपालि सहभागिता नै नहुने रहेछ।'

प्रकाशित: १७ पुस २०७२ २२:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App