एनओसीको मंगलबार बसेको कार्यसमिति बैठकले सर्वसम्मत दुई महिनापछि भारतमा हुने १२ औं सागका लागि सेभ दी मिसनमा सदस्यसचिव विष्टलाई पठाउने निर्णय गरेको जनाएको छ । क्षेत्रीय खेलकुदको सबैभन्दा ठूलो महोत्सव फेब्रुअरी ६ देखि १६ सम्म भारतको गुहाटीमा हुनेछ । नेपालबाटै सुरु खेलकुदको १२ औं संस्करणमा २३ खेल समावेश छन् । नेपालले सबै खेलमा सहभागिताको तयारी गरिरहेको छ । सबै खेलमा सहभागिता भए नेपालबाट मात्र ४ सयको हाराहारीमा खेलाडी सागमा गुहाटी पुग्नेछन् ।
परिषदले केही दिनअघि हक्की र खोःखोमा सहभागिता नजनाउने बताएको थियो । तर, त्यस विषयमा एनओसीलाई कुनै जानकारी गराएको छैन । एनओसीमार्फत मात्र सहभागिता जनाउन पाउने भएकाले परिषदको सिफारिसमा एनओसीले नै सबै खेलाडी, प्रशिक्षक, अधिकारी तथा पदाधिकारीको सहभागिता चाँजोपाँजो मिलाउने व्यवस्था छ । 'हामीलाई लिखित रूरुपमा कुनै जानकारी आएको छैन । तर, सबै खेलमा सहभागी हुने खालको कुरा हामीले बुझेका छौं,' एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले भने ।
ओलम्पिक, एसियाली खेलकुद, दक्षिण एसियाली खेलकुद (साग) लगायत अन्य महŒवपूर्ण अन्तर्राष्ट्रिय खेलमहोत्सवमा सहभागिता जनाउने क्रममा सेभ दी मिसन (टोली नेता) चयन सधैँ विवादित हुने गरेको थियो । अन्तर्राष्ट्रिय खेलमहोत्सवमा सहभागिताको सबै प्रबन्ध मिलाउने काम एनओसीले गर्ने गर्छ । त्यसैले सेभ दी मिसन छान्ने अधिकार पनि एनओसीमै निहित हुन्छ । तर, त्यस्ता खेल महोत्सवमा टिम तयारी तथा सहभागिताको खर्च सरकारले गर्ने भएकाले सरकारी प्रतिनिधिको रूपमा रहेको परिषदले सेभ दी मिसनमा दाबी गर्दा नेपाली खेलकुदले विवाद बेहोर्ने गरेको छ ।
सन् २०१० मा बंगलादेशको ढाकामा सम्पन्न ११ औं सागपछि एनओसीले परिषदका सदस्यसचिवलाई सेभ दी मिसन बनाएको यो पहिलो अवसर हो । ११ औं सागमा परिषदका तत्कालीन सदस्यसचिव हरिबाबु चौधरीले सेभ दी मिसनको हैसियतमा नेपाली टोलीको नेतृत्व गरेका थिए । त्यसयता सबै अन्तर्राष्ट्रिय खेलमहोत्सवमा सेभ दी मिसन एनओसीकै पदाधिकारी हुन्थ्यो । २०१० मै चीनको ग्वान्झाउमा सम्पन्न १६ औं एसियाली खेलकुदमा एनओसीले तत्कालीन उपाध्यक्ष उमेशलाल श्रेष्ठलाई सेभ दी मिसनको जिम्मेवारी दिएको थियो । यता परिषदका सदस्यसचिव चौधरीले पनि आफैलाई सेभ दी मिसन घोषणा गरेपछि मार्चपासमा नेपालका दुई जनाले सेभ दी मिसनको ब्याच लगाएका थिए । ओलम्पिक काउन्सिल अफ एसिया तथा आयोजकबाट मान्यता नपाए पनि चौधरीले सेभ दी मिसनको ब्याच लगाउँदा ग्वान्झाउमा देशकै बेइज्जत भएको थियो । त्यसअघि पनि सेभ दी मिसनको विषयमा राखेप र एनओसीबीच विवाद हुँदा थुपै्रपटक नेपालको सहभागितासमेत प्रभावित भएका उदाहरण छन् ।
एनओसीका अध्यक्ष श्रेष्ठले परिषदसँग सम्बन्ध सुमधुर भएका बेला सधैं सदस्यसचिवलाई नै सेभ दी मिसनको जिम्मेवारी दिने गरेको बताए । 'सेभ दी मिसन भनेको टोलीको प्रमुख हो । टोली नेता सबैभन्दा बढी जिम्मेवार हुनुपर्छ र अन्तर्राष्ट्रिय मञ्चमा उसले एनओसीसँग प्रत्येक पाइलामा सहकार्य गर्नुपर्छ,' श्रेष्ठले भने, 'त्यस्तो हुने विश्वास भयो र परिषदका सदस्यसचिवलाई सेभ दी मिसन बनाउन पायौं भने त्यो सबैका लागि राम्रो हुन्छ । उहाँका लागि पनि यो एउटा सम्मानजस्तो हो ।'
विष्टले जनवरी ११ देखि १३ सम्म गुहाटीमा हुने सेभ दी मिसनको सेमिनारमा नेपाली टोलीको नेतृत्व गर्नेछन् । उनीसँगै एनओसीका कार्यालय सचिव सुजनलाल श्रेष्ठ पनि सेभ दी मिसनको सेमिनारमा भाग लिन त्यसतर्फ जाने एनओसीले जनाएको छ ।
प्रकाशित: १४ पुस २०७२ २०:०९ मंगलबार