खेल

राजनीतिको छाया छैन क्रिकेटमा

गाले रंगशालाअगाडि सरकारविरुद्ध प्रदर्शन गर्दै श्रीलंकाली जनता।

आर्थिक संकटका कारण श्रीलंका अहिले अस्थिर बनेको छ। पेट्रोल, औषधि र खाद्यान्नजस्ता दैनिक अत्यावश्यक वस्तुको अभाव छ। राष्ट्रपतिले पनि राजीनामा दिइसकेका छन्।

गालेमा श्रीलंका र पाकिस्तानबीचको पहिलो टेस्ट शनिबारबाट सुरु हुँदै छ। गत साता अस्ट्रेलिया र श्रीलंकाबीच गालेमा दोस्रो टेस्ट चलिरहँदा प्रदर्शनकारीले मैदानबाहिर राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा माग्दै प्रदर्शन गरेका थिए। राजधानी कोलम्बोमा त्योभन्दा ठूलो आन्दोलन चर्किएको थियो। पाकिस्तान क्रिकेट टोली अहिले कोलम्बोबाट एक किलोमिटरको दूरीमा रहेको होटलमा बसेको छ।

राजनीतिक गतिरोध र आर्थिक संकटका कारण दिनहुँ प्रदर्शन भइरहेका छन्। देश जलिरहँदा कुनै पनि प्रदर्शनकारी र राजनीतिक दलले क्रिकेटको विरोध गरेनन्। विदेशी मुद्राको आम्दानीका लागि पनि क्रिकेट खेल चल्न अत्यावश्यक छ भन्ने सबैले बुझेका छन्।

अस्ट्रेलिया भ्रमणबाट श्रीलंका क्रिकेटले करिब दुई मिलियन डलर आम्दानी गरेको थियो। १–१ को बराबरीमा सकिएको दुई टेस्टको शृंखला हेर्न सयौें संख्यामा अस्ट्रेलियाका समर्थक मैदानमा उपस्थित थिए। जसले कोमामा रहेको त्यहाँको पर्यटन क्षेत्रलाई केही मात्रामा भए पनि चलायमान बनाउन मद्दत गरेको छ।

पाकिस्तानको भ्रमणबाट उल्लेख्य आम्दानी त हुँदैन तर पनि यो शृंखला विभिन्न कारणले पनि अत्यावश्यक थियो। श्रीलंकाले आगामी महिना एसिया कपको आयोजना गर्दै छ। श्रीलंका सरकार र क्रिकेट बोर्ड सो प्रतियोगिता अन्योलका कारण युएईमा सरेको हेर्न चाहँदैनन्। उनीहरू विश्वसामु अन्योलका बीच पनि खेलकुद क्षेत्र निर्वाध रूपमा चलिरहेको छ भन्ने सन्देश प्रवाह गर्न लागिपरेका छन्।

अस्ट्रेलियाविरुद्धको शृंखलाबाट आम्दानी गरेको श्रीलंका क्रिकेट बोर्डले एसिया कपको आयोजनाबाट कयौं डलर आम्दानी गर्ने निश्चित छ। विश्व क्रिकेटका चिर प्रतिद्वन्द्वी पाकिस्तान र भारतबीचको खेल अवलोकन गर्नका लागि पनि धेरै दर्शक श्रीलंका आउने अनुमान गरिएको छ।

आन्दोलनकै कारण पाकिस्तानले यसै साताको सुरुआतमा कोलम्बोमा अभ्यास सत्र भने रद्द गरेको थियो। अहिले भने अभ्यास सत्र निर्वाध रूपमा चलिरहेको छ। दोस्रो टेस्ट भने आगामी साता कोलम्बोमै सुरु हुनेछ।

‘बाहिर सुनिएजस्तो श्रीलंकाको सुरक्षा कमजोर छेैन र श्रीलंका क्रिकेट बोर्डले हामीलाई राम्रो आतिथ्यता दिइरहेको छ,’ पाकिस्तानका कप्तान बाबर आजमले भने, ‘हामीले राम्रो वातावरण पाएका छौं। अभ्यास राम्रो भइरहेको छ। शृंखलामा हामीले उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वस्त छु।’

अस्ट्रेलियाविरुद्धको पहिलो टेस्ट १० विकेटले गुमाएको श्रीलंका दोस्रो टेस्टमा भने एक इनिङ र ३९ रनको जितसहित शृंखला बराबरी गर्न सफल भएको थियो।

पाकिस्तानविरुद्ध घरेलु मैदानमा हुने दुई टेस्ट शृंंखलामा श्रीलंका जितलयलाई निरन्तरता दिन चाहन्छ। श्रीलंका र पाकिस्तानबीचको टेस्ट शृंखलालाई स्पिनरहरूको भिडन्तका रूपमा लिइएको छ। देश जलिरहँदा कुनै पनि प्रदर्शनकारी र राजनीतिक दलले क्रिकेटको विरोध गरेनन्। विदेशी मुद्राको आम्दानीका लागि पनि क्रिकेट खेल चल्न अत्यावश्यक छ भन्ने सबैले बुझेका छन्।

प्रकाशित: ३२ असार २०७९ ०१:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App