खेल

एकदिवसीय क्रिकेटमा नेपाल क्यानडासँग पराजित

फाइल तस्बिर

नेपाल क्यानडासँगको दोस्रो तथा अन्तिम एकदिवसीय खेलमा पराजित भएको छ।  

क्यानडाको किङ सिटीस्थित मेपल लिफ क्रिकेट मैदानमा  गए राति सम्पन्न खेलमा नेपाल क्यानडासँग ८३ रनले पराजित भएको हो। क्यानडाले नेपाललाई जितका लागि १८९ रनको लक्ष्य दिएको थियो। नेपाल ३९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १०५ रनमा समेटियो।

नेपालका लागि देव खनालले सर्वाधिक २६ रनको योगदान दिए भने पवन सर्राफले १४ रन जोडे। यसैगरी विनोद भण्डारी, बसिर अहमेद र आदील आलमले समान १३ रन जोडे। कप्तान सन्दीप लामिछानेले ११, रोहित पौडेलले ६, करण केसीले ५ तथा कुशल भुर्तेलले १ रन जाडे भने दपेन्द्रसिंह ऐरी र आरिफ शेख खाता नखोल्दै पभेलियन फर्किए।

बलिङतर्फ क्यानडाका अमर खालीद, सलमान नजर, रोमेल साहजाद, साद बिन जफर र हर्ष थाकेरले समान २÷२ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको क्यानडाले ५० ओभरमा ९ विकेट गुमाएर १८८ रनको योगफल बनाएको थियो।

क्यानडाका लागि श्रेयस मोभाले ५० रनको अर्धशतकीय पारी खेले भने आरोन जोनसनले ४४ तथा अमर खालीदले अविजित ३० रन बनाए। यसैगरी उदयवीर सिंहले १६ तथा अखिल कुमारले १२ रन जोडे।

बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछानेले ३, दीपेन्द्रसिंह ऐरीले २ तथा बसिर अहमद, किशोर महतो, करण केसी र आदील आलमले समान १/१ विकेट लिए।

नेपाल दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा गएको हो। क्यानडाविरुद्धको पहिलो एकदिवसीय खेल भने वर्षाका कारण रद्द भएको थियो। 

प्रकाशित: २३ असार २०७९ ०४:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App