खेल

एसिया रग्बीको काउन्सिल बैठक नेपालमा हुने

आगामी डिसेम्बरमा एसिया रग्बीको काउन्सिल बैठक नेपालमा आयोजना हुने भएको छ।

किर्गिस्तानको बिसकेकमा सम्पन्न एसिया रग्बी काउन्सिल बैठकले यसै वर्षको अन्त्यमा आफ्नो बैठक काठमाडौंमा गर्ने निर्णय गरेको नेपाल रग्बी संघका कार्यवाहक अध्यक्ष दीपक देवकोटाले जानकारी दिए। एसिया रग्बी काउन्सिल बैठक र विशेष साधारणसभा बिसकेकमा गत सोमबार सम्पन्न भएको थियो।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ एसिया रग्बीको कार्यकारी सदस्यसमेत हुन्। उक्त साधारणमा सभामा नेपाल रग्बी संघका कार्यवाहक अध्यक्ष दीपक देवकोटा र महासचिव चेतनराज गिरी सहभागी भएका थिए।

सदस्यसचिव घिसिङ भने एसिया रग्बीका बैठकमा सहभागी हुन बिसकेक गएका थिए। ‘काउन्सिल बैठक नेपालमा नै हुने पक्का भएको छ। हामीले आगामी डिसेम्बर १२ र १३ तारिखमा गर्ने गरी प्रस्ताव गरेका छौं। तथापि, केही कार्यक्रमले गर्दा मिति भने तय भइसकेको छैन।

नेपालमा पहिलो पटक एसिया रग्बीको बैठक आयोजना गर्ने जिम्मेवारी पाउँदा निकै खुसी छु,’ संघका कार्यवाहक अध्यक्ष देवकोटाले भने। साथै नेपालले डिसेम्बरमा नै एसिया यु-१८ महिला तथा पुरुष रग्बी सेभेन्स प्रतियोगिता पनि आयोजना गर्दै छ।

उक्त प्रतियोगिता आयोजना गर्नका लागि नेपालले दाबेदारी प्रस्तुत गरेको थियो। ‘नेपालमा रग्बी खेलप्रति चासो उत्पन्न गर्नका लागि पनि एउटा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा आवश्यक थियो। त्यसैले अहिले उमेर समूहकै प्रतियोगिताबाटै भए पनि अन्तर्राष्ट्रिय प्रतिस्पर्धा आयोजना गर्न लागेका हौं,’ देवकोटाले भने, ‘हामीले यसका लागि दाबेदारी प्रस्तुत गरेका थियौं। जसको काउन्सिल बैठकले पास गर्‍यो। यो आयोजनाले नेपालमा रग्बी खेलको विकासमा कोसेढुङ्गा साबित हुनेछ।’

बिसकेकमा नै भएको विशेष साधारणसभाले मुख्य चार निर्णय गरेको छ। एसिया रग्बीको हेडक्वार्टर हङकङबाट संयुक्त अरब इमिरेट्स (दुबई) मा सार्ने, हङकङमा रहेको खाता बन्द गर्ने, कुनै पनि राष्ट्रका संघ प्रतिबन्ध पर्दा सो देशको कार्यकारी सदस्य पनि स्वतः निलम्बन तथा प्यालेस्टाइन र बहराइनलाई पूर्ण सदस्यता प्रदान गर्ने साधारण सभाले निर्णय गरेको हो। साथै एसिया रग्बीले २९ राष्ट्रलाई मतधिकार प्रदान पनि गरेको छ। बिसकेकमा भएको साधारण सभामा ३६ राष्ट्रबाट प्रतिनिधि बोलाए पनि २९ राष्ट्रले मात्र मताधिकार पाएका हुन्।

उक्त बैठकबाट दक्षिण एसियाली राष्ट्र भारतले डिभिजन–३ र इन्डोनेसियाले महिला रग्बी सेभेन्सको प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी पनि पाएका छन्। एसियामा रग्बी खेल विकासका लागि एसिया रग्बीका सदस्य राष्ट्रसँग बृहत् छलफल पनि गर्ने काउन्सिल बैठकले निर्णय गरेको छ। एसिया रग्बी काउन्सिलको सबै प्रस्ताव साधारणसभाले पनि सर्वसम्मत पास गरेको थियो।  

प्रकाशित: २३ असार २०७९ ०४:०८ बिहीबार

एसिया रग्बीको काउन्सिल बैठक