खेल

‘लेवान्डोवस्कीका विकल्प होइनन् माने’

जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिखका खेलकुद निर्देशक हसन साल्हामिडिचले इङ्लिस प्रिमियर लिगको क्लब लिभरपुलबाट साडियो मानेलाई भित्र्याए पनि टोलीका सर्वकालीन स्ट्राइकर रोबर्ट लेवान्डोवस्कीको महत्त्व नघट्ने बताएका छन्।

पोल्यान्डका स्ट्राइकर लेवान्डोवस्की बायर्नसँग सम्झौताको अन्तिम वर्षमा छन्। लेवान्डोवस्कीले भने बायर्नमा आफ्नो भविष्य नदेखेकाले नयाँ गन्तव्यका लागि बाटो सहज गरिदिन क्लबसमक्ष आग्रह गरेका थिए। लेवान्डोवस्कीलाई अनुबन्धन गर्न स्पेनिस ला लिगाको क्लब बार्सिलोनाले इच्छा देखाउँदै आएको छ।

त्यस्तै पेरिस सेन्ट जर्मन (पिएसजी) र चेल्सी पनि उनलाई भित्र्याउन इच्छुक देखिँदै आएका छन्। लेवान्डोवस्कीले क्लब छोड्ने इच्छा देखाए पनि बायर्न भने उनलाई क्लबमा राख्न प्रतिबद्ध देखिएको छ। ‘लेवान्डोवस्की बायर्नमै रहन्छन्, यसमा कुनै दुबिधा छैन,’ हसनले भने, ‘उनका लागि शीर्ष क्लबले इच्छा देखाउनु नौलो होइन र हामी उनका लागि आएका प्रस्तावमा सकारात्मक छैनौं। जुलाई १२ बाट हाम्रो प्रशिक्षण सुरु हुन्छ र लेवान्डोवस्की प्रशिक्षणमा सहभागी हुनेछन्।’

बायर्नले मानेसँग बुधबार सम्झौता प्रक्रिया पूरा गरेको थियो। माने बायर्न भित्रिएसँगै लेवान्डोवस्की बाहिरिने सम्भावना बलियो देखिए पनि हसनले भने त्यस्तै कुनै सम्भावना नरहेको बताए। ‘मलाई मानेको आगमनपछि लेवान्डोवस्कीको आगामी गन्तव्यका बारेमा प्रश्न आउँछ भन्ने थाहा थियो,’ हसनले भने, ‘तर हामी स्पष्ट छौ। लेवान्डोवस्कीको सम्झौता सन् २०२३ सम्म कायम छ। हामीले टोली बलियो होस् भनेर माने भित्र्याएका हौं। लेवान्डोवस्कीको विकल्पको लागि होइन।’ 

प्रकाशित: १० असार २०७९ ०१:४५ शुक्रबार

इङ्लिस प्रिमियर लिग पोल्यान्डका स्ट्राइकर लेवान्डोवस्की बायर्न