खेल

भदौ २५ देखि एनएसएललाई समय

फाइल तस्बिर।

दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल आयोजनाका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिलाई मिति उपलब्ध गराएको छ।

एन्फाले सोमबार एनएसएल आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिलाई लिगको मितिसहितको पत्र पठाएको हो। एन्फाको पत्रअनुसार अब दोस्रो संस्करणको एनएसएल भदौ २५ देखि कात्तिक ५ गतेसम्म सञ्चालन हुने भएको छ।

यसअघि लिग सञ्चालनका लागि मिति उपलब्ध गराउन भन्दै गत वैशाखमा एनएसएलको आयोजकले एन्फालाई पत्राचार गरेको थियो। एन्फाले भदौ १५ देखि असोज २५ सम्म एनएसएलको आयोजनाको लागि समय दिएको थियो। तर उपलब्ध गराएको समयमा वर्षालाई करण देखाउँदै प्रतियोगिता सञ्चालन गर्न असहज हुने भन्दै आयोजकले एन्फासँग भदौ २५ देखि कात्तिक ५ सम्मको समय मागेको थियो।

साथै एन्फाले प्रतियोगिता सञ्चालन गर्नुपूर्व खेलतालिका तथा खेल नियमावलीसहित प्राविधिक पक्षका विषय खेल हुनुपूर्व स्वीकृत गराई मात्र प्रतियोगिताका खेल सञ्चालन गर्न समेत आग्रह गरेको छ। यसअघि एनएसएलको दोस्रो संस्करण चैत्र २६ गतेदेखि आठ गतेसम्म हुने तय भए पनि सहभागी क्लबले तयारीका लागि समय नपुग्ने बताएपछि प्रतियोगिता स्थगित भएको थियो।

कोरोना महामारीका बावजुद पनि सफलतापूर्वक पहिलो संस्करण सम्पन्न गरेको आयोजकले दोस्रो संस्करणमा तीन टोली थप गर्दै सहभागी टोलीको संख्या १० पुर्‍याएको थियो। जसमा तीन टोलीको टुङ्गो लागिसकेको छ भने अक्सन पनि सम्पन्न भइसकेको छ।

सहभागी १० फ्रेन्चाइज क्लबमा यस पटक विराटनगर सिटी एफसी, वीरगन्ज युनाइटेड एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स र स्पोर्टिङ इलाम एफसी दी मेचीले सहभागिता जनाउँदै छन्। प्रतियोगिता काठमाडौं र पोखरामा सञ्चालन गर्ने आयोजकको तयारी छ।

प्रकाशित: १ असार २०७९ ०६:१९ बुधबार

दोस्रो संस्करणको नेपाल सुपर लिग एनएसएल फुटबल आयोजना नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालि