खेल

खेलकुद पूर्वाधार निर्माण र खेलाडी उत्पादनमा सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही

जुम्ला–रारा अल्ट्राम्याराथन

तस्बिरः जुम्ला–रारा अल्ट्राम्याराथन प्रतियोगिता

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले खेलकुद पूर्वाधार निर्माण र खेलाडी उत्पादनमा प्रदेश सरकार लागिरहेको बताएका छन्। उनले पूर्वाधार अभावमा खेलाडीहरुले आफ्नो प्रतिभा देखाउन र खेलकुदका गतिविधि हुन नसकेको बताउँदै प्रदेश सरकार पूर्वाधार निर्माणमा केन्द्रित रहेको बताए।

शनिबार जुम्ला सदरमुकाम खलंगामा जुम्ला–रारा अल्ट्राम्याराथन प्रतियोगीताको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले सुर्खेतमा प्रदेश स्तरीय रंगशाला निर्माण गरिहरहेको र जुम्लमा हाइअल्टिच्यूट ट्रेनिङ सेन्टर स्थापना गर्ने बताए। ‘प्रदेश सरकारले खेलकुदलाई उच्च प्राथमिकतामा राखेको छ, त्यसैले पहिलो प्रदेश गौरवको आयोजनाका रूपमा वीरेन्द्रनगरमा प्रदेश रंगशाला निर्माणको काम गरिरहेका छौं,’ मुख्यमन्त्री शाहीले भने, ‘जुम्लामा हाइअल्टिच्यूट ट्रेनिङ सेन्टर निर्माणका लागि प्रक्रिया अघि बढाएका छौं।’

मुख्यमन्त्री शाहीले जुम्ला–रारा अल्ट्राम्याराथन प्रतियोगीताले कर्णाली र यस क्षेत्रका प्रतिभाहरुलाई विश्वमा चिनाउन सघाउ पुर्‍याएको बताए। जुम्ला–रारा म्याराथन तीन वर्षयता हरेक वर्ष सञ्चालन हुँदै आएको छ। उनले अल्ट्राम्याराथनले कर्णाली चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताए। ‘अल्टा म्याराथनका कारण कर्णालीको पहिचान संसारभर भएको छ, विभिन्न देशका नागरिकहरु कर्णालीमा दौडिन आउनु हुन्छ,’ उनले भने, ‘यसलाई अझ भव्य र व्यापक बनाउन प्रदेश सरकारले सम्पूर्ण रूपमा सहयोग गर्छ।’

मुख्यमन्त्री शाहीले कर्णालीले आफ्नो शक्ति देखाउन नसकेको बताए। ‘कर्णालीलाई चिनाउने, कर्णालीलाई अघि बढाउने शक्ति हामीसँग छ,’ मुख्यमन्त्री शाहीले भने, ‘हामीले अव आफ्नो शक्ति देखाउने बेला आएको छ।’

आयोजक कर्णाली स्पोट्र्स क्लवका अध्यक्ष सरोज शाहीका अनुसार तीन वर्षयता हरेक वर्ष जुम्ला सदरमुकाम खलंगादेखि मुगुको रारातालसम्मको ४९ किलोमिटर लामो जुम्ला–रारा अल्ट्रा म्यारथन प्रतियोगीताको आयोजना भइरहेको छ। ‘यो वर्ष एक विदेशीसहित ७६ जना धावकहरु सहभागी हुनुहुन्छ,’ उनले भने, ‘७६ जना मध्ये १५ जना महिला सहभागी हुनुहुन्छ।’

जुम्ला–रारा अल्ट्रा म्यारथनमा गायक बुद्धवीर लामा, ओलम्पीयन बैकुण्ठ मानन्धर, क्याप्टेन भरतसिंह थापा, भेट्रान रनर सम्भु दाहाल, सुमन कुलुङलगायतले सहभागीता जनाएका छन्। स्पेन, अमेरिका, क्यानडालगायतका देशका १८ जनाले अल्ट्रा म्याराथनका लागि नाम दर्ता गराएपनि जुम्लासम्म नियमित हवाई उडान नहुँदा अन्तिममा आएर उनीहरुले म्याराथनमा सहभागीता जनाउन नसक्ने बताएका थिए।

प्रकाशित: २६ चैत्र २०७८ ०४:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App