खेल

बागमती युथ क्लव विजयी

धनगढीमा भैरहेको पाँचौ अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकप अन्तर्गत शुक्रबार भएको खेलमा बागमती युथ क्लव विजयी भएको छ। ए डिभिजन क्लव न्युरोड टिम एनआरटीलाई पेनाल्टी शुट आउटमा ४–३ गोल अन्तरले पराजित गर्दै बागमतीले जीत हात पार्न सफल भएको हो।

हार सँगै एनआरटी भने प्रतियोगिताबाट बाहिरिएको छ। निर्धारित समयको खेल बराबरीमा टुँगिएपछि पेनाल्टी शुट आउटबाट निर्णय लिइएको थियो।

पेनाल्टीमा बागमतीका अमर श्रेष्ठ, बिजय घलान, ईमान घलान र अनिल राना मगरले गोल गरे। यसैगरि एन आर टी का शिव गुरुङ, दिपेश घले र मेसुकेले गाल गरे। धनगढीको रंगशालामा भएको खेलमा पहिलो हाफ शून्य रहित बराबरीमा टुँगिएको थियो। दोश्रो हाफको ६८ मिनेटमा एन आर टी का विदेशी खेलाडी स्टेफेन समिरले गोल गरेर टिमलाई अग्रता दिलाए। मेसुकेले दिएको पासमा उनले हेड मार्फत बललाई जाली चुमाएका थिए।

समिरले नै पेनाल्टी मार्फत ७५ मिनेटमा अर्को गेला गरेर टिमको अग्रता दोब्बर बनाएका थिए। ८३ मिनेटमा बागमतीका बिमल घिसिङले गोल गरे। त्यस लगत्तै ८५ मिनेटमा बिजय घलाङले गोल गरेर बराबरीमा पुर्याएका थिए। निर्धारित समयमा खेल २–२ को बराबरीमा सकिएको थियो। खेलका उत्कृष्ट खेलाडी बागमतीका गोल किपर मनोज प्रधानले रु १० हजार प्राप्त गरे।

प्रकाशित: २० फाल्गुन २०७८ १३:५७ शुक्रबार

सुदूरपश्चिम खप्तड गोल्डकप