दक्षिण अफ्रिकासँगको दोस्रो टेस्टमा मंगलबार १ सय ९८ रनले हार बेहोरेपछि विश्व टेस्ट च्याम्पियनसिपको उपाधि रक्षा गर्ने न्युजिल्यान्डको लक्ष्यमा ठूलो धक्का लाग्ने देखिएको छ।
तीन महिनाको अन्तरमा ६ टेस्टमध्ये मंगलबार क्राइस्टचर्चमा न्युजिल्यान्डले तेस्रो हार बेहोरेको थियो। जुन, न्युजिल्यान्डका लागि घरेलु भूमिमा दोस्रो हार समेत हो। पछिल्लो वर्ष मात्र टेस्टको सफलताबाट रमाएको न्युजिल्यान्ड पछिल्लो समय संघर्षमा गुज्रिरहेको छ। गत डिसेम्बरमा भारतसँग पराजय बेहोरेको न्युजिल्यान्ड पहिलो पटक बंगलादेशसँग माउन्ट माउन्गनुईमा गत जनवरीमा स्तब्ध भयो। हारको शृंखलाले हेग्ले ओभलमा दक्षिण अफ्रिकासँग पनि निरन्तरता पायो।
दक्षिण अफ्रिकाविरुद्ध पहिलो टेस्टमा गत हप्ताको जितपछि न्युजिल्यान्ड पहिलो पटक अफ्रिकी टोलीविरुद्ध शृंखला जित्ने लक्ष्यमा थियो तर १७औं पटकको प्रयासमा पनि न्युजिल्यान्ड मंगलबार दक्षिण अफ्रिकाविरुद्ध शृंखला जित्न असफल भयो।
तथापि, न्युजिल्यान्डका कप्तान टम लाथमले शृंखला जित्नु अति आवश्यक रहेको प्रतिक्रिया दिए। विश्व टेस्ट च्याम्पियनसिपको उपाधि रक्षा गर्न न्युजिल्यान्डले वरीयतामा सुधार गर्नुपर्नेछ। गत वर्ष इङ्ल्यान्डमा सम्पन्न फाइनलमा भारतलाई हराउँदै न्युजिल्यान्डले उपाधि जितेको थियो।
‘घरेलु भूमिमा जित्नु आवश्यक थियो। पाहुना टोलीले घरेलु टोलीविरुद्ध जित्नु कठिन नै हुने गर्दछ। त्यसैले आजको खेल जित्न आवश्यक थियो,’ लाथमले भने। पहिलो इनिङमा दक्षिण अफ्रिकाले ७१ रनको अग्रता र दोस्रो इनिङमा ३ सय ५४ रन जोड्दै न्युजिल्यान्डका लागि ४ सय २६ रनको संघर्षपूर्ण लक्ष्य प्रस्तुत गरेको थियो। तर, न्युजिल्यान्डले पहिलो दुई विकेट ६ रन बटुल्दा नै गुमायो। अन्तिम दिन ९४/४ को स्थितिबाट न्युजिल्यान्ड चिया सत्रपछि २ सय २७ रनमा समेटियो। यो हारपछि न्युजिल्यान्ड ६ टोली सम्मिलित टेस्ट च्याम्पियनसिपको छैटौं स्थानमा छ। न्युजिल्यान्डले २८ अंक ६ खेलबाट जोड्यो।
यता पाँच खेलबाट ३६ अंक बटुलेको दक्षिण अफ्रिका चौथो स्थानमा छ। ‘यो स्थितिमा आउँदा निकै दुःखी भएको छु,’ लाथमले थपे, ‘हामीले शतप्रतिशत नै दिएका हौं। हामी सबैमा पनि जितको महत्त्वाकांक्षा थियो। तर, सफलता पाएनौं।’ कप्तान लाथमले केही महिनामा इङ्ल्यान्डको भ्रमण गर्दा जित्ने लक्ष्य रहने आशा देखाएका छन्। ‘इङ्ल्यान्डको भ्रमण जाँदा त्यो खेल हाम्रो पक्षमा पर्ने लक्ष्य छ। त्यसका लागि जतिसक्दो उत्कृष्ट प्रदर्शन गर्नेछौं,’ लाथमले भनेका छन्। जितको प्रतिशतका आधारमा टेस्ट च्याम्पियनसिपको अंकतालिकामा श्रीलंका पहिलो स्थान छ।
श्रीलंकाले दुई खेलमा शतप्रतिशत जित निकालेको छ। अस्ट्रेलियाले पाँचमध्ये चार जित निकाल्दै ८६.६६ प्रतिशत सफलता पाएको छ। पाकिस्तानले चारमध्ये तीन जित निकाल्दा ७५ प्रतिशत सफलता निकालेको छ।
श्रीलंकाले यसै हप्तादेखि घरेलु टोली भारतसँग दुई खेलको शृंखला र अस्ट्रेलियाले शुक्रबारदेखि पाकिस्तानसँग रावलपिन्डीमा तीन खेलको शृंखला खेल्दै छ। टेस्ट च्याम्पियनसिपको पुछारमा इङ्ल्यान्ड छ। इङ्ल्यान्डले ९ खेलमा ६ हार, दुई बराबरी र एक मात्र जितसहित ९.२५ प्रतिशतको जितको सफलता पाएको छ।
प्रकाशित: १८ फाल्गुन २०७८ ०३:५४ बुधबार