खेल

युनाइटेडले अवसर गुमायो

दशौं स्थानमा रहेको साउथह्याम्पटनसँग शनिबार १–१ गोलको बराबरीमा रोकिँदा म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगको अंकतालिकाको चौथो स्थानमा उक्लिने मौका गुमाएको छ।

आफ्नो घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेड पहिलो हाफमा लिएको अग्रता दोस्रो हाफमा कायम राख्न नसक्दा पाहुना टोलीसँग अंक बाँड्न पुग्यो। युनाइटेडले खेलको सुरुआतबाट नै भ्रमणकारी टोलीलाई दबाब दिएर खेलेको थियो।

सोही क्रममा २१औं मिनेटमा जाडोन सान्चोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। मार्कुस रसफोर्डले उपलब्ध गराएको पासलाई सान्चोले आकर्षक शैलीमा जाली चुमाएका हुन्। त्यसपछि पहिलो हाफमा युनाइटेडले खेलमा थप गोलका लागि अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेन।

साउथ ह्याम्पटनले पनि पछि परेको अवस्थामा फर्किने प्रयास गरे पनि सफल हुन सकेको थिएन। दोस्रो हाफमा साउथ ह्याम्पटन खेलमा फर्किने संकेत दियो। दोस्रो हाफको तेस्रो मिनेटमा नै साउथ ह्याम्पटनले गोल गर्न सफल भयो। चे एडम्सले गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याए। 

बराबरीपछि दबाबमा परेको युनाइटेडले स्पष्ट अंकका लागि धेरै पटक प्रयास गर्‍यो। प्रतिस्पर्धात्मक बनेको दोस्रो हाफमा साउथ ह्याम्पटनले रक्षात्मक खेल्दा युनाइटेडको अग्रपंक्ति चल्न सकेन र खेल बराबरीमा सकियो । २४ खेलबाट ४० अंक जोडेको युनाइटेड पाँचौं स्थानमा छ। 

साउथह्याम्पटन २९ अंक जोडेर दशौं स्थानमा छ। वेस्टह्याम युनाइटेडको समान ४० अंक भए पनि गोल अन्तरमा युनाइटेड पछि पर्‍यो। जारी सिजनको प्रिमियर लिग फुटबलमा समान २४ खेल सकिँदा म्यानचेस्टर सिटी ६० अंकका साथ अंकतालिकाको शीर्ष स्थानमा छ। ९ अंकले पछि रहेको लिभरपुल दोस्रो स्थानमा छ। लिभरपुलले २३ खेल खेलेको छ। २४ खेल खेलेको चेल्सी ४७ अंकका साथ तेस्रो स्थानमा छ।

प्रकाशित: १ फाल्गुन २०७८ ०४:३३ आइतबार

मार्कुस रसफोर्ड प्रिमियर लिग दशौं स्थानमा रहेको साउथह्याम्पटन