खेल

नेपाल क्रिकेटमा फर्किए पुबुदु

नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार पुबुदु दसानायकेलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको जिम्मेवारी दिएको छ।

नेपाललाई ट्वान्टी–२० विश्वकपसम्मको यात्रा तय गराएका पुबुदु दोस्रो पटक नेपाली क्रिकेटको प्रशिक्षकमा नियुक्त भएका हुन्। गत सेप्टेम्बरमा ओमान भ्रमणका क्रममा डेभ ह्वाटमोरले राजीनामा दिएपछि उक्त पद रिक्त थियो। 

शनिबार बसेको क्यानको बोर्ड बैठकले पुबुदुलाई जिम्मेवारी दिइने निर्णय गरेको हो। सोही बैठकले सन् २०२२ का लागि खेलाडी वर्गीकरण समिति पनि गठन गरेको छ। दुर्गाराज पाठकको संयोजकत्वमा रहेको उक्त समितिको सदस्यहरूमा जनरल म्यानेजर रौनक मल्ल, क्रिकेट म्यानेजर विनोद दास र राष्ट्रिय टिम छनोट समितिका संयोजक उत्तम कर्मचार्य छन्।

प्रशिक्षकका लागि परेको ६० जनाको खुला आवेदनबाट क्यानले पुबुदुलाई छनोट गर्‍यो। ‘पुनः एक पटक नेपाल क्रिकेट संघ (क्यान)सँग काम गर्ने मौका पाउँदा म निकै खुसी छु र आभार पनि प्रकट गर्दछु,’पुबुदुले भने, ‘नेपाललाई थप उचाइमा पुर्‍याउनका लागि मेरो कार्यकाल केन्द्रीत रहनेछ। नेपाली क्रिकेटमा सिनियर र उमेर समूहका खेलाडीहरू निकै प्रतिभावान् छन्।’ आपैmंले बनाएको इतिहास जोगाउन उनलाई चुनौती हुनेछ।

पहिलो पटक सन् २०११ मा नेपाल आउँदा पुबुदुले उमेर समूहदेखि क्रिकेट एकेडेमीको अवधारणालाई सुरुआत गराएका थिए। उनले चार वर्षको नेपाल बसाईमा नेपाललाई सफलता पनि दिलाए। आइसिसी विश्व क्रिकेट लिग डिभिजन–४ र तीनको उपाधि दिलाएका पुबुदुले नेपाललाई सन् २०१४ ट्वान्टी–२० विश्वकपसम्म पुर्‍याएका थिए।

सोही कारण उनी नेपाली क्रिकेट समर्थकमाझ निकै लोकप्रिय छन्। तथापि, खस्कदो प्रदर्शनका कारण नेपालको एकदिवसीय मान्यतालाई जोगाइराख्न पनि उनलाई चुनौती बन्न सक्छ। साथै खेलाडी र क्यानबीचको सम्बन्ध सुधार गराउन पनि उनले भूमिका खेल्नुपर्नेछ। संघविरुद्ध नेपाली खेलकुद निकायका शक्ति केन्द्र धाउने खेलाडीको खराब परम्परा रोक्न पनि पुबुदुसमक्ष जिम्मेवारी थपिनेछ।  

प्रकाशित: २६ मंसिर २०७८ ०२:५८ आइतबार

नेपाल क्रिकेटमा फर्किए पुबुदु थप उचाइ खस्कदो प्रदर्शन