खेल

सोनी एक्स्ट्रिम टुरको ब्रान्ड एम्बेसडर

१३औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता खेलाडी सोनी गुरुङ हिमालयन एक्स्ट्रिमको आयोजनामा नेपालमा पहिलो पटक हुन लागेको ‘एक्स्ट्रिम वल्र्ड टुर ट्रायथलन’ मा ब्रान्ड एम्बेसडर चुनिएकी छिन्।

प्रतियोगिता सन् २०२२ को मे ७ मा पोखरामा हुँदै छ। प्रतियोगिताको एक्स्ट्रिम पक्ष भनेको फेवतालमा ३.५ किमी पौडी, १ सय ८० किलोमिटर साइक्लिङ र ४३ किलोमिटर दौड हुनेछ। विश्वभरिका करिब १ सय प्रतियोगीहरूको सहभागिता हुने उक्त एक्स्ट्रिम टुर नेपालमा पहिलो पटक हुन लागेको हो। स्वर्णधारी खेलाडी सोनी गुरुङ ‘आइकन’ खेलाडी भएकीले उनलाई ब्रान्ड एम्बेसडर बनाएको आयोजक हिमालयन एक्स्ट्रिमका रेस डाइरेक्टर रिक्की योन्जनले बताए।

सशस्त्र प्रहरी बल (एपिएफ) की खेलाडी सोनीले उक्त प्रतियोगितामा प्रतिस्पर्धा पनि गर्नेछिन्। एम्बेसडर सोनीलाई प्रतियोगिता खेल्न आवश्यक पर्ने ड्रेस स्विमिङ (वेट सुट) सुट, टिसर्ट, जुत्तालगायतका कस्ट्युम सामग्री मंगलबार प्रतियोगिता आयोजक संस्थाका को–रेस डाइरेक्टर रिकेश योन्जनले हस्तान्तरण गरे।

उक्त सामग्री विश्व प्रख्यात ‘हुब’ कम्पनीको रहेको र यसले सोनीलाई प्रतिस्पर्धामा सहयोग पुग्ने आयोजकले जनाएको छ। ६ वर्षदेखि एफिएफमा कार्यरत सोनी धादिङमा जन्मिएकी खेलाडी हुन्। २७ वर्षीया सोनी विगत ७ वर्षदेखि ट्रायथोलन खेलमा आबद्ध छिन्। उनी आठौं राष्ट्रिय खेलकुदकी स्वर्ण पदक विजेता पनि हुन्। ब्रान्ड एम्बेसडर चुनिएपछि सोनीले नेपालमा पहिलो पटक हुन लागेको ‘एक्स्ट्रिम वल्र्ड टुर ट्रायथलन’ मा सहभागी हुन पाउँदा निकै गर्व लागेको बताइन्। ‘विश्वका एकसे एक एथलिटहरूसँग आफ्नै देशमा सहभागी हुन पाउनु आफ्ना लागि मात्रै नभई देशकै लागि गौरवको कुरा हो,’ उनले भनिन्।

प्रतियोगिताका लागि विगत ५ महिनादेखि निरन्तर रूपमा अभ्यासमा जुटेकी सोनीले आफूले सोचेको सपना पूरा गर्नेतर्फ नै लागि परेको बताइन्। ‘यो हामीले खेलिरहेको भन्दा निकै कठिन र जोखिमपूर्ण प्रतियोगिता हो,’ उनी भन्छिन्,‘नेपाली खेलाडी कठिन संघर्षका बीच पनि देशको झन्डा उठाउन कुनै कसर बाँकी राख्दैनन् भन्ने कुरालाई म थप चरितार्थ गर्दै देशका लागि केही योगदान गर्न चाहन्छु।’ दुई वर्षअघि आयोजना हुने तय भएको उक्त प्रतियोगिता कोभिड १९ का कारण स्थगित हुन पुगेको थियो। ‘एक्स्ट्रिम वल्र्ड टुर ट्रायथलन’ विश्वकै साहसिक प्रतियोगिताका रूपमा चिनिने गर्दछ। युरोपका विभिन्न देशमा यो प्रतियोगिता बर्सेनि आयोजना हुँदै आए पनि एसियामा भने पहिलो पटक आयोजना हुन लागेको आयोजकले जनाएको छ।

प्रकाशित: २३ मंसिर २०७८ ०१:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App