खेल

लुम्बिनीलाई यु–१९ क्रिकेट उपाधि

सुदूर पश्चिम प्रदेशमाथि १ सय १३ रनको फराकिलो जित निकाल्दै लुम्बिन प्रदेश वाई–वाई यु–१९ पुरुष क्रिकेट प्रतियोगिताको च्याम्पियन भएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा आइतबार भएको फाइनल खेलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेशलाई १ सय १३ रनले हराउँदै उमेर समूहको प्रतियोगिताको विजेता बनेको हो। २ सय १३ रनको लक्ष्यका साथ जबाफी ब्याटिङ गर्ने क्रममा सुदूरपश्चिम २८.३ ओभरमा सबै विकेट गुमाउँदै ९९ रनमा समेटिँदा लुम्बिनीले फराकिलो जित निकालेको हो।

जितसँगै लुम्बिनीले नगद २ लाख रूपैयाँ पुरस्कार थापेको छ। यस्तै उपविजेतामा खुम्चिएको सुदूरपश्चिमले एक लाख रूपैयाँमा चित्त बुझाएको छ।

मध्य लक्ष्य पाएको सुदूर पश्चिमका लागि लोकेश बमले सर्वाधिक २५ रनको पारी खेल्दा ओपनर कप्तान खडक बोहराले २१, शेर मल्लले १५ तथा नारायण जोशीले ११ रन जोड्नुबाहेक अन्य टोलीले दोहोरो अंकको स्कोर गर्न सकेनन्। १६ रन जोड्ने क्रममा पहिलो विकेट गुमाएको सुदूरपश्चिमका लागि मध्यक्रमका ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्।

कठिन समीकरण पार गर्दै फाइनलमा स्थान बनाएको सुदूरपश्चिमले सुधारिएको प्रदर्शन गर्ने अपेक्षा गरिए पनि सफल हुन सकेन। सुदूरपश्चिमलाई सस्तैमा समेट्न लुम्बिनीका अजय चौहानले सर्वाधिक ५ विकेट निकाल्दा दुर्गेश गुप्ताले ३ तथा मोहम्मद हुसेनले २ विकेट हात पारे। ५.३ ओभर बलिङ गरेका चौहानले २० रन खर्चिएका थिए। दुर्गेशले ९ ओभर बलिङ गर्दा ३ मेडन राख्दै १९ रन खर्चिएका थिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरको खेलमा सबै विकेट गुमाएर २ सय १२ रन जोडेको थियो। लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ७० रनको योगदान गरे। देवले ९५ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गरे। विशालविक्रम केसीले ५१ रन, दुर्गेश गुप्ताले ३२ तथा प्रज्वल थापाले २४ रन जोडे।

सुदूरपश्चिमका आकाश चन्दले सर्वाधिक तीन विकेट हात पारे। शेर मल्ल र हेमन्त धामीले समान दुई/दुई विकेट आफ्नो नाममा लेखाए। नरेन साउद र राहुल भण्डारीले एक/एक विकेट लिए।

फाइनल खेलमा प्लेयर अफ दी म्याच लुम्बिनीका अजय चौहान चुनिए। सबै उत्कृष्ट खेलाडीको उपाधि लुम्बिनी प्रदेशका खेलाडीले जिते। मोहम्मद हुसेन उत्कृष्ट बलर बन्दा लुम्बिनीकै देव खनाल उत्कृष्ट ब्याट्सम्यान तथा प्रतियोगिताको उत्कृष्ट खेलाडी लुम्बिनीकै मोहम्मद हुसेन चुनिए। उत्कृष्ट बलर र ब्याट्सम्यानले समान १० हजार रूपैयाँ प्राप्त गर्दा सर्वोत्कृष्टले १५ हजार रूपैयाँ पाए। राउन्ड रोबिनको आधारमा खेलाइएको प्रतियोगितामा सातवटै प्रदेशको सहभागिता थियो।

प्रकाशित: २० मंसिर २०७८ ०३:४२ सोमबार

लुम्बिनीलाई यु–१९ क्रिकेट उपाधि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदान कठिन समीकरण