खेल

भारतीय टोली काठमाडौंमा

नेपालविरुद्ध मैत्रीपूर्ण खेलका लागि भारतीय टोली सोमबार काठमाडौं आइपुगेको छ। भारतले साफ च्याम्पियनसिपको तयारीका लागि कोलकातामा अभ्यास गरेको थियो। माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीमा रहेका नेपाल र भारतले त्यसैका लागि दुई मैत्रीपूर्ण खेल खेल्न लागेका हुन्।

भारतले नेपालविरुद्ध मैत्रीपूर्ण खेलका लागि सुनील क्षत्रीको कप्तानीमा शुक्रबार २५ सदस्यीय टोलीको घोषणा गरेको थियो। क्षत्रीले कोरोना महामारीबीच मैत्रीपूर्ण फुटबलका लागि निम्त्याएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल सरकारलाई धन्यवाद दिए।

‘कोरोना महामारीकै कारण हाम्रो घरेलु मैदानमा अहिले लिग सञ्चालन भएको छैन। सबै टोली र खेलाडी आराममा छन्,’ क्षत्रीले भने, नेपाल घरेलु टोली हो र घरेलु टोलीविरुद्ध खेल्न सधैं कठिन हुन्छ। हाम्रो लक्ष्य साफ च्याम्पियनसिप हो, त्यसैले नेपालविरुद्धको दुई मैत्रीपूर्ण खेलले टोलीलाई धेरै सहयोग पुर्‍याउनेछ।’

नेपाल र भारतबीच त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल हुनेछ। जसअन्तर्गत पहिलो खेल बिहीबार र दोस्रो खेल आइतबार हुनेछन्। नेपाल पनि साफ च्याम्पियनसिपका लागि साउन महिनादेखि निरन्तर प्रशिक्षणमा छ। करिब दुई साता प्रशिक्षणका लागि पोखरा पुगेको टोली आइतबार काठमाडाैँ आइसकेको छ। भारतविरुद्धको दुई मैत्रीपूर्ण खेलपछि नेपाल १० दिन बन्द प्रशिक्षणका लागि कतार प्रस्थान गर्नेछ। नेपाल कतारबाटै साफ च्याम्पियनसिपका लागि माल्दिभ्स प्रस्थान गर्नेछ।  

असोज १५ देखि ३० गतेसम्म हुने साफ च्याम्पियनसिपमा यस पटक आयोजक माल्दिभ्सहित, नेपाल, भारत, बंगलादेश र श्रीलंका गरी ५ टोलीको मात्र सहभागिता छ। जहाँ शीर्ष दुई टोली फाइलन प्रवेश गर्नेछन्। 

प्रकाशित: १५ भाद्र २०७८ ०२:५१ मंगलबार

नेपालविरुद्ध मैत्रीपूर्ण खेल