खेल

बंगलादेशले जित्यो अस्ट्रेलियाविरुद्ध

 महमुदुल्लाहको कप्तानीमा रहेको बंगलादेशले पाँच खेलको ट्वान्टी–२० शृंखलाअन्तर्गत शुक्रबार अस्ट्रेलियाविरुद्धको तेस्रो खेलमा रोमाञ्चक १० रनको जित निकाल्दै इतिहास बनाएको छ। घरेलु मैदानमा भएको शृंखलाको तेस्रो खेलमा पनि जित निकालेको बंगलादेशले अस्ट्रेलियाविरुद्ध कुनै पनि फर्म्याटको शृंखलामा पहिलो जित निकाल्दै इतिहास बनाएको हो। यससँगै बंगलादेशले अस्ट्रेलियाविरुद्धको पाँच खेलको शृंखला दुई खेलअगावै ३–० ले आफ्नो पक्षमा पारेको छ। यसअघि बंगलादेशले पहिलो खेलमा अस्ट्रेलियालाई २३ रन तथा दोस्रो खेलमा ५ विकेटले हराएको थियो। शुक्रबार पनि जितलाई निरन्तरता दिएको बंगलादेशका लागि युवा खेलाडीको प्रदर्शन निकै प्रशंसनीय रह्यो। यसअघि बंगलादेशले अस्ट्रेलियाविरुद्ध कुनै पनि ट्वान्टी–२० खेलमा सुखद नतिजा निकाल्न सकेको थिएन। टस जितेर पहिलो ब्याटिङ गरेको घरेलु टोली बंगलादेशले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाएर १ सय २७ रन जोडेको थियो। जसमा कप्तान महमुदुल्लाह एक्लैले ५२ रनको पारी खेलेका थिए।

१ सय २८ रनको लक्ष्यसहित जबाफी ब्याटिङ गरेको अस्ट्रेलियाले पूरै २० ओभर खेलेर ४ विकेटको क्षतिमा मात्र १ सय १७ रन जोड्न सक्यो। जबाफी ब्याटिङ गरेको अस्ट्रेलियाका लागि मिचेल मार्सले ५१ रनको अर्धशतकीय इनिङ खेले पनि टोलीको हारलाई टार्न सकेनन्। ओपनर बेन म्याकडेरमोटले ३५ रन बनाउँदै इनिङ सम्हाले पनि म्याथ्यु वाड सम्झनलायक प्रदर्शन गर्न चुके। एलेक्स क्यारे २० रनमा अविजित रहँदा डान क्रिस्टियन ७ रनमा अविजित रहे पनि जितका लाग स्कोर पर्याप्त भएन।

कसिलो बलिङ गर्ने क्रममा घरेलु टोली बंगलादेशका सोरिफुल इस्लामले २ विकेट निकाल्दा नसुम अहमेद र शकिब अल हसनले १÷१ विकेट लिए। यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशका लागि कप्तान महमुदुल्लाहले ५२ रन बनाएका थिए। ५३ बलको सामना गरेका उनले ४ चौका हिर्काएका थिए। उनलाई साथ दिने क्रममा शकिब अल हसनले २६ रनको पारी खेल्दा आफिफ होसेनले १९ र नुरुल होसेनले ११ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर गर्न सकेनन्। अस्ट्रेलियाका डेब्यु खेलाडी नाथन एलिसले ह्याट्रिक विकेट लिए। पराजयसँगै उनको ह्याट्रिक ओझेलमा परेको छ। अन्तर्राष्ट्रिय डेब्यु खेलमा ह्याट्रिक विकेट लिने पहिलो खेलाडीको कीर्तिमानसमेत नाथन एलिसको नाममा बनेको छ। नाथनले १९ ओभरको अन्तिम तीन बलमा विकेट लिँदै डेब्यु खेलमा ह्याट्रिक पूरा गरेका हुन्।  नाथनका अलावा जोस हाजलउड र एडम जाम्पाको नाममा २÷२ विकेट रह्यो।  

प्रकाशित: २४ श्रावण २०७८ ०४:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App